बझाङका वामपन्थी संस्थापकहरूको काँधमा मीनबहादुरको चुनावी डुङ्गा

बझाङ: बझाङको चुनावी इतिहासमा यसपटक एउटा दुर्लभ र शक्तिशाली दृश्य देखिएको छ । दशकौँदेखि विभाजित कम्युनिस्ट शक्तिहरू मात्र एकीकृत भएका छैनन्, उनीहरूले आफ्नो सबैभन्दा अनुभवी र रणनीतिक ‘मस्तिष्क’लाई चुनावी कमाण्डरका रूपमा मैदानमा उतारेका छन् । बझाङको वामपन्थी आन्दोलनका आधारस्तम्भ भानुभक्त जोशी आफैँ चुनावी कमाण्ड सम्हाल्न मैदानमा उत्रिएपछि नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मिनबहादुर कुँवरको पक्षमा माहोल एकाएक ‘हाइभोल्टेज’ बनेको छ ।


रणनीतिक सारथी भानुभक्त: अनुभवको ‘ह्याट्रिक’ अब कुँवरका लागि
बझाङको भूगोल, मनोविज्ञान र निर्वाचनको गणितलाई भानुभक्त जोशीले जति गहिराइमा बुझेका नेता विरलै छन् । २०५१, २०६४ र २०७९ मा गरी तीन पटक संसदीय चुनाव जितेर ‘ह्याट्रिक’ गरेका जोशीलाई यसपटक वामपन्थी मोर्चाले ‘मुख्य रणनीतिकार’ र ‘चुनावी कमाण्डर’ को रूपमा अगाडि सारेको छ ।
पूर्व मन्त्रीसमेत रहेका जोशी केवल प्रचारक मात्र होइनन्, उनी सूक्ष्म व्यवस्थापन र विपक्षीको रणनीति काट्न खप्पिस नेता मानिन्छन् । उनले आफ्ना पुराना सबै अनुभव र चुनावी कौशललाई कुँवर जिताउने अभियानमा केन्द्रित गरेका छन् । उनकै नेतृत्वमा बनेको चुनावी कमाण्डले अहिले जिल्लाका प्रत्येक वडा र टोलमा (Micro-planning) सहित काम गरिरहेको छ ।
संस्थापकहरूको अभूतपूर्व ‘एकता मञ्च’
यसपटक बझाङले वामपन्थी आन्दोलनको “पुनर्जन्म” महसुस गरिरहेको छ । जीवनको सम्पूर्ण उर्जा कम्युनिस्ट आन्दोलनमा खर्चेका संस्थापक नेताहरू अहिले एउटै डुङ्गामा सवार छन् ।
माओवादी आन्दोलनका बौद्धिक नेता र केन्द्रिय सदस्य देवराज रेग्मी, जसको वैचारिक धारले अभियानलाई उर्जा दिएको छ ।
त्यस्तै संविधानसभा सदस्य संकर खड्का पनि निकै सक्रीय छन् ।

विरेन्द्र भन्डारी केदारस्यू क्षेत्रमा ग्रासरुटमा बलियो प्रभाव भएका नेता हुन् । विशेषगरी भण्डारीको केदारस्युँ गाउँपालिकाको ‘जनपकड’ कुँवरका लागि निर्णायक हुन सक्छ ।
समाजवादीका जिल्ला इन्चार्ज रहेका दिलबहादुर सिंह पनि मिनबहादुर कुंवरलाई जिताउन ब्यस्त देखिन्छन् । उनले जयपृथ्वी नगरपालिकामा मोर्चाको पक्षमा बलियो पर्खाल खडा गरेका छन् ।

‘अभिभावकविहीन’ विपक्षी र एमालेको संकट
भानुभक्त जोशी, दिलबहादुर सिंह, विरेन्द्र भण्डारी जस्ता वाम संस्थापक नेताहरूले एकीकृत समाजवादेव हुँदै नेपाली कम्युनिस्ट पार्टीको बाटो रोजेपछि एमालेमा ठूलो रिक्तता देखिएको छ । एमालेभित्रको आन्तरिक अन्तर्विरोध र अनुभवी अभिभावकको अभावले गर्दा एमाले कार्यकर्ताहरू “अल्लारे नेतृत्व” बाट निराश छन् ।
विश्लेषकहरू भन्छन्, “बझाङमा जसको हातमा कम्युनिस्ट विरासत छ, उसकै पक्षमा जनलहर छ । अहिले त्यो विरासत भानुभक्त जोशीको कमाण्डमा संयुक्त मोर्चासँग छ ।” एमालेका संस्थापकहरू नै विपक्षी कित्तामा उभिएपछि एमालेको ‘साख’ जोगाउनै मुस्किल देखिएको छ ।
स्थानीय शक्ति र समावेशी मोर्चा
यो निर्वाचनमा केवल शीर्ष नेता मात्र होइन दोस्रो लेयरका थुप्रै प्रभावशाली अनुहारहरू पनि कुँवरको पक्षमा ढाल बनेर उभिएका छन् । संविधान सभा सदस्य जनक बहादुर बुढा र धर्मराज बिक तथा निवर्तमान सुदूरपश्चिम प्रदेश सभासदस्य देवकी मल्ललगायतको सक्रियताले जिल्लाभर तरङ्ग पैदा गरेको छ ।
बुङ्गलका उपमेयर धनबहादुर बोहोरा र प्रभावशाली नेतृ राधिका रतालाले दुर्गम बस्तीका महिला र युवाहरूको मतलाई सुरक्षित गरिरहेका छन् ।
नेकपाका केन्द्रिय सदस्यहरू टोप बहादुर खड्का, लक्ष्मीराज जोशी, गजेन्द्र सार्की र अक्कल धामीले चुनावी कमाण्डलाई थप उचाई दिएका छन् ।


बझाङमा रास्वपाको क्रेजले परम्परागत पार्टीका भोटहरू काट्ने देखिन्छ । तर, यसको प्रत्यक्ष असर कांग्रेस र एमालेको भोट बैंकमा बढी पर्ने निश्चित छ । असन्तुष्ट र तटस्थ युवा भोटहरू रास्वपातिए मोडिनुको अर्थ कांग्रेस–एमालेको जीतको अन्तर घट्नु हो । यस्तो अवस्थामा संगठित वामपन्थी मत र भानुभक्त जोशीको ‘इलेक्सन म्यानेजमेन्ट’ ले मिनबहादुर कुँवरलाई विजयको नजिक पुर्‍याउने प्रबल सम्भावना छ ।
इतिहास रच्ने अन्तिम तयारी
बझाङमा अहिलेको माहोल “असाध्यै राम्रो” हुनुको मुख्य कारण नै नेतृत्वको एकता भएको नेता जनकबहादुर बुढा बताउँछन् । संस्थापक नेताहरूले आफ्नो व्यक्तिगत अहंकार त्यागेर एउटै मञ्चबाट जनतासँग भोट माग्नुले मतदातामा ठूलो मनोवैज्ञानिक प्रभाव पारेको उनको दाबी छ । यदि भानुभक्त जोशीको ‘रणनीतिक दिमाग’ र मिनबहादुर कुँवरको ‘स्वच्छ छवि’ को यो तालमेल चुनावको अन्तिम दिनसम्म कायम रहे, बझाङमा वामपन्थी एकताले नयाँ इतिहास रच्ने निश्चित छ ।

Loading...