कम्युनिस्ट पार्टीको लक्ष्य, जिम्मेवारी र आजको राजनीति चुनौती

कम्युनिस्ट पार्टीको मूल लक्ष्य देशको आवश्यकता अनुसार संगठन, नेता र कार्यकर्ता निर्माण गर्नु हो । यही उद्देश्यप्रति म आज पनि उस्तै जिम्मेवार र संवेदनशील छु । म आज जुन राजनीतिक हैसियतमा छु, त्यो मेरो व्यक्तिगत त्याग, निरन्तर संघर्ष र विगतमा मैले योगदान दिएको पार्टी तथा नेतृत्वको भूमिकाबाट सम्भव भएको हो भन्नेमा म पूर्ण विश्वस्त छु ।

मैले कम्युनिस्टको नाममा कुनै सीमित समूह होइन, कम्युनिस्ट समाज निर्माण गर्ने शर्तमा आन्दोलनको यात्रामा आफूलाई जोडेको हुँ । आज पनि म त्यही यात्रामा छु । तर पछिल्लो समय पार्टी नेतृत्वले नीति एकातिर प्रयोग गर्ने र व्यवहार अर्कोतिर देखाउने, वस्तुगत भू–राजनीतिमा ठोस पहल गर्न नसक्ने अलमलपूर्ण अवस्थाले पार्टीलाई कमजोर बनाउँदै लगेको महसुस भयो । सुझाव र वैचारिक बहस गर्न खोज्दा नेतृत्व नसुन्ने अवस्थाको सिर्जना भयो ।

राजनीतिमा नीति तय गर्ने अधिकार व्यक्तिको हो भने त्यसलाई अनुमोदन गर्ने अधिकार जनताको हो भन्ने मान्यताअनुसार म लगायत साथीहरूले विद्रोह गर्दा सकारात्मक र नकारात्मक दुवै प्रतिक्रिया आउनु स्वाभाविक हो । इतिहास हेर्ने हो भने विप्लव कमरेडले पार्टीबाट विद्रोह गर्दा पनि उनलाई दरबारीय, पद र अवसरका लागि विदेशी उक्साहटमा गएको जस्ता आरोप लगाइएका थिए । यस्ता आरोप र आक्षेप राजनीतिमा नयाँ होइनन् ।

राजनीति भनेको आलोचना र सुझावलाई आत्मसात् गर्ने प्रक्रिया हो । तर आजको मूल प्रश्न के हो भने—हाम्रो अन्तिम लक्ष्य के हो ? के हाम्रो दृष्टिकोणले साँच्चै कम्युनिस्ट समाज निर्माण गर्छ ? व्यक्तिगत गालीगलौज होइन, पार्टीका सबै काम–कारबाहीमा दिनरात खटिने, जिम्मेवारी पूरा गर्ने सशक्त र जुझारु कार्यकर्ताको आवश्यकता आज पनि उत्तिकै छ ।

नेता र कार्यकर्ता फरक राजनीतिक संगठनमा हुँदा सहकार्य गर्दा आक्रोश पैदा हुनु अस्वाभाविक होइन । तर घरमा बसेर पार्टीको नाममा व्यक्तिगत लाभ लिने, नेतृत्वलाई अनैतिक ढंगले प्रभाव पार्ने र त्यसैलाई आफ्नो क्षमता ठान्ने प्रवृत्तिले कस्तो कम्युनिस्ट पार्टी र कस्तो कम्युनिस्ट समाज बनाउँछ ? यसको मूल्याङ्कन भविष्यले नै गर्नेछ ।

मैले हिजो संगठन र पार्टीको समूह त्यागेको हुँ, विचार त्यागेको होइन । यस विषयमा हजारौँ घण्टा बहस गर्न सकिन्छ । तर आज पार्टी र नेतृत्वको नाममा अनैतिक व्यक्तिगत लाभ लिनेहरूले गरेको तथ्यहीन, अराजनीतिक र प्रतिशोधपूर्ण टिप्पणी देख्दा म गम्भीर रूपमा दुःखी छु । म ती कुराको प्रत्यक्ष जवाफ दिन चाहन्नँ । तर यति भने स्पष्टसँग भन्न सक्छु—मेरो राजनीतिक जीवनका २३ वर्ष र विप्लवसँगको विद्रोहको यात्राका १२ वर्षमा मैले कुनै पनि अराजनीतिक वा व्यक्तिगत स्वार्थ पूरा गरेको तथ्य–प्रमाण प्रस्तुत गर्न सक्ने हैसियत कसैसँग छैन ।

पार्टीमा काम गर्दा राम्रो र नराम्रो दुवै पक्षको जिम्मेवारी नेतृत्वले लिनुपर्छ । अहिले विप्लव दाइले नेतृत्व गरेको सयौँ कार्यकर्तासँग म राजनीतिक, वैचारिक, नैतिक, आर्थिक, सांस्कृतिक र सामाजिक व्यक्तित्वका विषयमा खुला बहस गर्न पूर्ण रूपमा तयार छु ।

अब हाम्रो आगामी बाटो, लक्ष्य र उद्देश्य के हो ? कुनै पनि पार्टीले केवल वैचारिक रूपमा मात्र होइन, व्यवहारिक रूपमा पनि जनतालाई कम्युनिस्ट आन्दोलनको दिशा स्पष्ट पार्नु आज झन् आवश्यक छ ।

यस विषयमा बहस गरौँ, मित्रहरू । तथ्यहीन, तर्कहीन, पूर्वाग्रही र स्तरहीन कुराले न समाज बन्छ, न कम्युनिस्ट पार्टी, न कम्युनिस्ट समाज ।

आज संसारभरि भुइँतहका नागरिकहरूको पक्षमा बोल्ने, लड्ने र काम गर्ने शक्तिलाई समाप्त पार्ने साम्राज्यवादी अभियान चलिरहेको छ । यसको विरुद्ध भुइँतहका जनताको हक–अधिकारका लागि बोल्ने, लड्ने र काम गर्ने सबै शक्तिहरू एकजुट हुनु आजको प्रमुख दायित्व हो ।

मानिसहरूले भन्न सक्छन्—हामी स्वार्थको राजनीतिमा गयौँ । तर यदि हामीले साँच्चै स्वार्थको राजनीति गरेको भए, बम–बारुद, जेल–नेल, हिरासत, घाइते अवस्था, दमन र सयौँ मुद्दा खेप्दै जीवनको कुनै ग्यारेन्टी नै नभएको त्यो कठिन बाटो हामीले कहिल्यै पार गर्ने थिएनौँ ।

आज परिस्थिति यस्तो बनेको छ कि हाम्रो व्यक्तिगत जीवनभन्दा पनि देशको अवस्था प्रमुख बनेको छ ।

Loading...