बझाङ घर भएकी राष्ट्रिय क्रिकेटर मनिषा उपाध्याय सम्मानित
काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी सदस्य मनिषा उपाध्याय ६० हजार रुपैयाँको खेल सामग्रीसहित सम्मानित भएकी छन् । आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत ‘लेट रमादेवी मेमोरियल क्रिकेट कप’ को तर्फबाट ६० हजार रुपैयाँ बराबरको क्रिकेट सामग्रीसहित उपाध्याय सम्मानित भएकी हुन् ।
नेपाली महिला क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय टोलीमा पुग्न सफल बझाङ घर भएकी मनिषाको मिहिनेत, समर्पण र निरन्तरताको कदर गर्दै उक्त सम्मान गर्न लागिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताका निर्देशक राज क्षेत्रीद्वारा जारी प्रेस विज्ञप्तिअनुसार २७ असोजमा अर्घाखाँचीमा आयोजना हुने ‘लेट रमादेवी मेमोरियल क्रिकेट कप’ को अवसरमा मनिषालाई ६० हजार रुपैयाँ बराबरको क्रिकेट सामग्री हस्तान्तरण गरिएको हो ।

‘यो सहयोग क्रिकेट सामग्रीका रूपमा मात्र नभइ उनको मिहिनेतप्रतिको सम्मान र आगामी दिनमा अझ राम्रो प्रदर्शनका लागि सानो प्रोत्साहन हो’, विज्ञप्तिमा भनिएको छ । सम्मान ग्रहणपछि प्रतिक्रिया दिँदै मनिषाले आज प्राप्त खेल सामग्रीले आगामी दिनमा धेरै सहयोग पुग्ने बताइन् । यस्ता प्रकारका सम्मानले क्रिकेटमा थप उत्कृष्ट प्रदर्शन गर्न हौसला पनि पुग्ने उनको भनाइ छ ।
अन्तर्राष्ट्रिय क्रिकेट अम्पायर रवीन्द्र गुप्ताले मनिषालाई नेपाली महिला टिमकी उदाउँदो स्टारका रूपमा प्रशंसा गरेका छन् ।
‘मनिषा अहिले नेपाली टोलीको महत्त्वपूर्ण सदस्य हुन् । उनीजस्ता प्रतिभावान् खेलाडीको हौसला बढाइराख्न यस्तो प्रकारको सम्मान प्रदान गर्न आवश्यक छ । आगामी दिनमा अन्य सङ्घ–संस्थाले पनि खेलाडीको हौसला बढाउने काम गरेको देख्न पाइयोस्’, अम्पायर गुप्ताले भने । –रासस