- सरकारले आगामी मंसिर ४ गते संघ र प्रदेशको चुनाव मिति तय गरेको छ । विभिन्न पार्टीका शीर्ष नेताहरु चुनावी मैदानमा छन् । लोकतान्त्रमा उम्मेदवारहरुविच स्वच्छ प्रतिस्पर्धा हुने विश्वास गरिन्छ । आफ्ना एजेन्डा र घोषणा पत्र लिएर उम्मेदवारहरु जनता माझ जान्छन् ।
तर, कतिपय उम्मेदवारहरु भने गैर राजनीतिक गतिविधिबाट चुनाव जित्ने मनसाय राख्छन् । चुनाव जित्न षडयन्त्र, छलकपट, हत्यासम्म गर्न पछिपर्दैनन कतिपय उम्मेदवार ।
आसन्न चुनावको मुखैमा यस्तै षड्यन्त्र माओवादी नेता शरदसिंह भण्डारीविरुद्ध भएको छ । नेता भण्डारीविरुद्ध अख्तियारमा बेनामे उजुरी परेको छ ।
अछामको प्रतिनिधि सभा क्षेत्र २ को प्रदेश सभा क बाट सुदूरपश्चिम प्रदेश सभाकालागी उम्मेदवारका बलिया आकांक्षी नेता हुन् भण्डारी । माओवादी सशस्त्र द्वन्द्वमा पुर्ण भुमिगत भएका भण्डारी पार्टीभित्र शालिन स्वभावका नेता मानिन्छन् ।
भण्डारी केही समयकालागि माओवादी केन्द्र सुदूरपश्चिम प्रदेस कमिटी अध्यक्षसमेत भएका थिए । प्रतिनिधिसभामा लागि अछाममा माओवादी केन्द्रले एक सिट पाउने निश्चित भएको छ । भण्डारी प्रतिनिधि सभाको उम्मेदवारका लागि योग्य भएपनी उनले प्रदेश सभाका लागि उम्मेदवारी दाबी गरेका छन् ।
निर्वाचित भएपछि सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीको दौडमा रहेका नेता भण्डारीविरुद्ध राजनीतिक षडयन्त्र भएको कार्यकर्ता बताउँछन् ।
आगामी मंसिरमा हुने निर्वाचनमा पनि उनले टिकट पाउने चर्चा चलिरहेका बेला भण्डारीविरुद्ध बेनामे उजुरी परेको हो ।
भण्डारी २०६४ सालको निर्वाचनमा अवैध तरिकाले निर्वाचित भएको भन्दै उनीविरुद्ध उजुरी परेको छ । तत्कालीन संविधानसभा निर्वाचनका बेला भण्डारीको मतदाता नामावलीमा नाम समावेश नभएकाले उनले झुट्टा विवरण पेश गरी उम्मेद्वारी दिएको र गैरकानुनी रुपमा निर्वाचित भएको भन्दै उजुरी गरिएको हो ।
अख्तियारमा कसले उजुरी गर्यो भन्ने बारेमा कुनै ब्यहोरा खुलाइएको छैन । भण्डारीले टिकट पाउने पक्काभएपछि पार्टीभित्रकै केही तत्व सक्रिय भएको माओवादी कार्यकर्ता बताउँछन् । नेता भण्डारीले उजुरीमा केही सत्यता नरहेको भन्दै भ्रममा नपर्न सबैलाई आग्रह गरेका छन् ।
भण्डारीको शालिन स्वभाव र लोकपि्रयताबाट बिचलित भएका केही आन्तरिक तत्व भण्डारीविरुद्व भ्रम फैलाउन सक्रिय भएको माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य एक नेताले बताए ।
नेता भण्डारीले आफुविरुद्व दायर भएको बेनामे उजुरीमा कुनै सत्यता नभएको बताएका छन् । नेपाल एङ्गलसंग कुरा गर्दै भण्डारीले उक्त उजुरीमा कुनै सत्यता नभएको जनाए । आफुले टिकट पाउने निश्चित जस्तै भएपछि केही व्यक्तिहरु आत्तिएको र उनिहरुले नै उजुरी दिएको हुनसक्ने भण्डारीको प्रतिक्रिया छ ।
यता निर्वाचन आयोगले भण्डारी आगामी चुनावमा उम्मेदवार भएको खण्डमा पनि कुनै असर नपर्ने प्रतिक्रिया दिएको छ । ‘निवेदनको बारेमा छानबिन होला त्यो छुट्टै कुरा हो । तर, निवेदनमा विपक्षी बनाइएका व्यक्तीको कार्यकाल समाप्त भैसकेकोले अब उक्त उजुरीले कुनै कारबाही गर्न सक्दैन ।’ निर्वाचन आयोगका एक प्रतिनिधिले भने ।