माओवादी नेता शरदसिंह भण्डारीले आफूविरुद्ध झुट्टा, कपोकल्पित र प्रतिशोधपूर्ण समाचार प्रकाशन गरिएको भन्दै आपत्ति जनाएका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै भण्डारीले प्रकाशित समाचारको खण्डन गरेका छन् ।
आगामी मङ्सिरमा हुने निर्वाचनमा टिकट पाउने चर्चा चलिरहेका बेला भण्डारीविरुद्ध अख्तियारमा बेनामे उजुरी परेको हो ।
सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नेता भण्डारीविरुद्ध एक उजुरी परेको थियो । उनी २०६४ सालको निर्वाचनमा अवैध तरिकाले निर्वाचित भएको व्यहोरा उजुरीमा उल्लेख छ । तत्कालीन संविधानसभा निर्वाचनका बेला भण्डारीको मतदाता नामावलीमा नाम समावेश नभएकाले उनले झुट्टा विवरण पेश गरी उम्मेद्वारी दिएको र गैरकानुनी रुपमा निर्वाचित भएको उक्त उजुरीमा भनिएको छ ।
‘आज मिति २०७९ असोज १७ गते न्युजगृह नामक अनलाइन पत्रिकाले मेरो विरूद्धको अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा दिएको बेनामी झुट्टा उजुरीको विषयलाई लिएर थप समाचार बनाउँदै मेरोविरूद्ध लगाएका सबै आरोप झुट्टा, कपोलकल्पित र प्रतिशोधपूर्ण छन्, यसमा मेरो गम्भिर आपत्ति छ । संविधान सभा –२०६४ को निर्वाचनमा मेरो नामावली नभएको भए उम्मेद्वारी नै हुने थिएन भन्ने कुरा समेत नबुझी दिएको उजुरी अत्यन्तै पूर्वाग्रही, दुराशययुक्त एवं प्रतिशोधपूर्ण छ भनी सम्बन्धित निकायको ध्यानाकर्षण गर्न चाहन्छु साथै पार्टीका सबै तह र जनसमुदायमा म कुनै कोणबाट अयोग्य नभएको स्पष्ट पार्न चाहन्छु ।’ जारी विज्ञप्तिमा भनिएको छ ।
संविधान सभा सदस्यमा बहाल रहेको अवधिमा त्यहाँ लगाएका सबै आरोप झुट्टा भएको भण्डारीले विज्ञप्तिमा उल्लेख गरेका छन् । भण्डारीले आफ्नो विषयमा समाचार बनाउँदा आफूलाई नसोधी एकतर्फी समाचार बनाएको भन्दै ‘न्युज गृह’ नामक अनलाइनप्रति नकरात्मक धारणा बन्न गएको बताएका छन् ।
अछामको प्रतिनिधि सभा क्षेत्र २ को प्रदेश सभा ‘क’ बाट सुदूरपश्चिम प्रदेश सभाका लागी उम्मेदवारका बलिया आकांक्षी नेता हुन् भण्डारी । माओवादी सशस्त्र द्वन्द्वमा पूर्ण भूमिगत भएका भण्डारी पार्टीभित्र शालीन स्वभावका नेता मानिन्छन् ।
भण्डारी केही समयका लागि माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्षसमेत भएका थिए । प्रतिनिधिसभामा लागि अछाममा माओवादी केन्द्रले एक सिट पाउने निश्चित भएको छ । भण्डारी प्रतिनिधि सभाको उम्मेदवारका लागि योग्य भएपनि उनले प्रदेश सभाका लागि उम्मेदवारी दाबी गरेका छन् ।
निर्वाचित भएको खण्डमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीको दौडमा रहेका नेता भण्डारीविरुद्ध पार्टीभित्रकै तत्त्वबाट गैर राजनीतिक षड्यन्त्र भएको कार्यकर्ता बताउँछन् ।