
बझाङ: बझाङमा एक व्यक्तिले ड्रोन उडानको अनुमति नविकरण नगरी ड्रोन उडाएको भेटिएको छ । जिल्ला प्रशासन कार्यालयबाट प्राप्त जानकारीअनुसार तलकोट गाउँपालिकाका गोर्ख बहाउदुर घर्तीलाई ड्रोन उडानका लागि गत भदौ १९ गते अनुमति पत्र जारी गरिएको थियो ।
पत्रमा उल्लेख भएअनुसार उक्त अनुमति भदौ १९ गतेदेखि मंसिर गतेसम्म ५४ दिनका लागि मात्र मात्रै अनुमती दिएको थियो । तर अनुमति अवधि समाप्त भइसकेपछि पनि उनले ड्रोन उडाइएको भन्ने सूचना प्राप्त भएपछि सम्बन्धित निकायको ध्यानाकर्षण भएको जनाइएको छ ।
ती व्यक्तिले व्यक्तिहरूका निजी घरमाथि ड्रोन उडाउने, जंगली तथा घरेलु जीवजन्तुलाई ड्रोनमार्फत लखेट्ने गरेका दृश्यहरू समेटिएका भिडियोहरू पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल भएका छन् । ती भिडियोहरूमा ड्रोन अत्यन्तै नजिकबाट घरमाथि उडाइएको, मानिसहरू असहज भएको र जीवजन्तु त्रसित भएर भागेको अवस्था देख्न सकिन्छ ।
स्थानीयवासीका अनुसार पछिल्लो समय ती व्यक्तिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनाव चिन्ह ‘घन्टी’ अंकित झण्डा ड्रोनमा झुण्ड्याएर विभिन्न व्यक्तिहरूका निजी घर तथा बस्तीमाथि ड्रोन उडाउँदै हैरानी दिएको आरोप लागेको छ । राजनीतिक चिन्हसहित ड्रोन उडाइँदा सर्वसाधारणमा त्रास, असहजता र गोपनीयता उल्लङ्घन भएको गुनासोसमेत बढ्दै गएको बताइएको छ ।
सामाजिक सञ्जालमा ती गतिविधिसम्बन्धी भिडियोहरू सार्वजनिक र भाइरल भएपछि विषयले थप चासो पाएको छ । यस घटनाले सार्वजनिक सुरक्षा, व्यक्तिगत गोपनीयता तथा जीवजन्तुको सुरक्षामा गम्भीर प्रश्न उठाएको भन्दै स्थानीयस्तरमा आलोचना भइरहेको छ ।
भाइरल भिडियो र जनगुनासोपछि जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण भएको र घटनाबारे आवश्यक छानबिन तथा तथ्य संकलन प्रक्रिया अघि बढ्न सक्ने संकेत प्रशासन स्रोतले दिएको छ । नियमविपरीत गतिविधि पुष्टि भएमा कानुनअनुसार कारबाही हुन सक्ने जनाइएको छ ।
ड्रोन (RPA/UAV) सञ्चालनसम्बन्धी कार्यविधि अनुसार अनुमति अवधि समाप्त भएपछि नविकरण नगरी ड्रोन उडाउनु गैरकानुनी मानिन्छ। यस्तो कार्य पुष्टि भएमा ड्रोन जफत, जरिवाना तथा आवश्यक परे कानुनी कारबाहीसमेत हुन सक्ने प्रावधान रहेको छ ।
जिल्ला प्रशासन कार्यालय स्रोतका अनुसार घटनाबारे छानबिन प्रक्रिया अघि बढ्न सक्ने र नियम उल्लङ्घन पुष्टि भए कानुनअनुसार कारबाही गरिने जनाइएको छ ।