मेरो जीवनमा सामाजिक भावनात्मक शिक्षाको प्रभाव

प्रिती बि.क. (सामाजिक भावनात्मक शिक्षा – SEEP कार्यक्रमकी सहभागी विद्यार्थी)


“ज्ञान मात्र पर्याप्त हुँदैन । आत्मचेतना, भावना व्यवस्थापन, सहानुभूति, जिम्मेवारी र सकारात्मक सोचबिना व्यक्ति अधुरो रहन्छ । यी सीपहरूले लजालु, कमजोर र संकोची विद्यार्थीलाई आत्मविश्वासी, जिम्मेवार र संवेदनशील नागरिक बनाउँछन् ।”

यही उद्देश्यलाई आत्मसात् गर्दै माछापुच्छ्रे गाउँपालिका वडा नं. ७, धम्पुसका दुई विद्यालय — उदय माध्यमिक विद्यालय र पृथ्वीनारायण माध्यमिक विद्यालय — का माध्यमिक तहका ६८ जना विद्यार्थी सहभागी भएको १२ हप्ते सामाजिक भावनात्मक शिक्षा (Social Emotional Education Program) हाम्रो जीवन परिवर्तन गर्ने एउटा ऐतिहासिक र प्रेरणादायी अभियानका रूपमा स्थापित भएको छ । म प्रिती बि.क., पृथ्वीनारायण माध्यमिक विद्यालय, माछापुच्छ्रे–७, धम्पुस, यस कार्यक्रमकी एक सहभागी विद्यार्थी हुँ ।

आज अत्यन्तै हर्ष, गर्व र कृतज्ञताका साथ यस कार्यक्रमबाट प्राप्त भएका अनुभव, सिकाइ तथा यसले मेरो जीवनमा ल्याएको सकारात्मक परिवर्तनका बारेमा केही भावना व्यक्त गर्न चाहन्छु ।

यस सामाजिक भावनात्मक शिक्षा कार्यक्रमले हामी विद्यार्थीहरूको जीवनमा गहिरो प्रभाव पारेको छ । पृथ्वीनारायण माध्यमिक विद्यालयमा शिक्षक अमृत कुमार भण्डारीको नेतृत्वमा सञ्चालित यो कार्यक्रम थप पढाइको अवसर मात्र थिएन । यसले हामीलाई असल मानिस बन्न, सकारात्मक दृष्टिकोण अपनाउन, आत्मविश्वास बढाउन र जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न सिकायो । साथै जीवनका कठिनाइलाई बुद्धिमत्तापूर्वक सामना गर्ने सीप पनि प्रदान गर्‍यो । शैक्षिक ज्ञानसँगै भावनात्मक, सामाजिक, नैतिक र नेतृत्वका जीवनोपयोगी दक्षता सिक्ने सुनौलो मौका यसले दियो ।

कार्यक्रम सुरु हुनुअघि म अत्यन्त संकोची स्वभावकी थिएँ । आफ्ना भावना व्यक्त गर्न, सार्वजनिक स्थानमा बोल्न र नयाँ व्यक्तिसँग घुलमिल हुन मलाई धेरै कठिन लाग्थ्यो । तर अहिले अवस्था पूर्ण रूपमा बदलिएको छ । म अहिले निर्धक्क भएर आफ्ना विचार राख्न सक्छु, समूहको नेतृत्व गर्न सक्छु, शिक्षकहरूसँग आदरपूर्वक कुराकानी गर्न सक्छु र परिवारसँग अझ नजिकको सम्बन्ध बनाउन सक्षम भएकी छु । यो सकारात्मक परिवर्तनको मुख्य आधार यही कार्यक्रम हो ।

कार्यक्रमले आत्मचेतनाको महत्त्व बुझायो । आफ्ना भावना चिन्न, कमजोरी स्वीकार गर्न र आफ्ना क्षमता बढाउन मैले सिकेँ । आत्मव्यवस्थापनमार्फत रिस, डर, चिन्ता र तनावलाई सकारात्मक तरिकाले व्यवस्थापन गर्ने बानी बस्यो । कठिन अवस्थामा हतार नगरी शान्त भएर सोचविचार गर्ने, विभिन्न विकल्पको तुलना गर्ने र सही निर्णय लिने क्षमता विकास भयो । सामाजिक सचेतनाले अरूका भावना बुझ्न, उनीहरूलाई सम्मान गर्न र सहानुभूति देखाउन सिकायो । यसबाट साथी, शिक्षक र परिवारसँगको सम्बन्ध अझ मजबुत र विश्वासिलो बन्यो । विद्यालयमा सहयोग, आदर र सद्भावको वातावरण थप बलियो भयो । सम्बन्ध कौशलले प्रभावकारी संवाद, सहकार्य र विवाद समाधानमार्फत राम्रो सम्बन्ध निर्माण गर्न सिकायो । जिम्मेवार निर्णय क्षमताले नैतिक र सुरक्षित छनोट गर्न तथा आफ्ना कार्यप्रति जवाफदेही बन्न प्रेरित गर्‍यो । विकासउन्मुख सोचले निरन्तर प्रयास, अभ्यास र गल्तीबाट सिक्दै आफूलाई सुधार्ने तथा चुनौतीलाई सिकाइको अवसर ठान्ने बानी बसाल्यो ।

यी सीपहरूले प्रभावकारी सञ्चार, नेतृत्व, सहकार्य, जिम्मेवारीबोध, अनुशासन, धैर्य, आत्मसम्मान र समस्या समाधान गर्ने क्षमता पनि बढाए । यी कुरा विद्यालय जीवनमा मात्र सीमित नभई भविष्यको व्यक्तिगत, सामाजिक र व्यावसायिक जीवनमा समेत अत्यन्त उपयोगी हुने विश्वास जागेको छ । कार्यक्रमले राम्रो विद्यार्थी मात्र होइन, राम्रो व्यक्ति बन्ने प्रेरणा दियो । अब हामी आफ्ना मात्र होइन, अरूका भावना पनि बुझेर सम्मान गर्न सक्छौँ । सहकार्य, सहिष्णुता, नेतृत्व र सकारात्मक सोचको विकास भएको छ । विद्यालयप्रतिको अपनत्व, साथीहरूबीचको सम्बन्ध र सिकाइप्रतिको रुचि उल्लेखनीय रूपमा बढेको छ ।

यो अवसरका लागि द स्कुल अफ नन-भायोलेन्स (The School of Nonviolence) परिवारप्रति हार्दिक आभार व्यक्त गर्दछौँ । उहाँहरूको दूरदृष्टि र गुणस्तरीय शिक्षाप्रतिको समर्पणले ग्रामीण क्षेत्रका हामीजस्ता विद्यार्थीलाई जीवन परिवर्तन गर्ने ज्ञान र संस्कार दियो । सहयोगी संस्था Lions Club of Pokhara Working Together लाई पनि धन्यवाद दिन चाहन्छौँ । सहजकर्ता प्रशिक्षक श्रीराम तिमिल्सिना र अमृत कुमार भण्डारीले प्रत्येक कक्षालाई जीवनसँग जोडेर सरल उदाहरण, प्रेरणादायी कथा र व्यावहारिक अभ्यासबाट सिकाउनुभयो । उहाँहरूको धैर्य, माया र सकारात्मक सोचले हामीलाई निरन्तर प्रोत्साहित गर्‍यो ।

कार्यक्रम संयोजक अमृत कुमार भण्डारी सरको भूमिका अत्यन्त प्रशंसनीय रह्यो । सुरुदेखि अन्तिमसम्म योजना, समन्वय, व्यवस्थापन र सहभागिता सुनिश्चित गर्न उहाँले गर्नुभएको अथक मेहनत र समर्पण उदाहरणीय छ । उहाँ संयोजक मात्र होइन, असल अभिभावक, प्रेरणादायी शिक्षक र कुशल मार्गदर्शक बन्नुभयो । उहाँले हरेक विद्यार्थीभित्रको क्षमता पहिचान गर्न, आत्मविश्वास जगाउन र जीवनलाई सकारात्मक दृष्टिकोणबाट हेर्न सिकाउनुभयो । पाठ्यपुस्तकभन्दा पर गएर व्यवहार, संस्कार, अनुशासन र मानवताका मूल्य सिकाउनुभएको योगदान सधैँ स्मरणीय रहनेछ ।

हामी सम्पूर्ण विद्यार्थीको तर्फबाट अमृत कुमार भण्डारी सर, विद्यालय परिवार, व्यवस्थापन समिति अध्यक्ष यम गुरुङ, प्रधानाध्यापक बुद्धि मिजार, विष्णुकान्त भट्टराई, टेक प्रसाद भण्डारी, सुनिल धामीलगायत सम्पूर्ण शिक्षक, अभिभावक र सहयोगी सबैप्रति उच्च सम्मान र गहिरो कृतज्ञता व्यक्त गर्दछौँ । यहाँहरूले दिनुभएको ज्ञान, प्रेरणा र मार्गदर्शन हाम्रो जीवनको अमूल्य सम्पत्ति बन्नेछन् । भविष्यमा पनि यस्ता कार्यक्रम निरन्तर चल्दै रहून् भन्ने शुभकामना छ ।

अन्त्यमा, यस कार्यक्रमले असल विद्यार्थी मात्र होइन, असल नागरिक र संवेदनशील मानव बन्ने बाटो देखाएको छ । असल मानिस र संवेदनशील नागरिक बन्नु नै शिक्षाको साँचो उद्देश्य हो । हामीले सिकेका ज्ञान, सीप र संस्कारलाई जीवनभर व्यवहारमा उतार्ने प्रतिबद्धता नै यस कार्यक्रमको वास्तविक सफलता हुनेछ ।

धन्यवाद ।

Loading...