गुजारा खोसिएकी शर्मिला भन्छिन्– बालेनले मलाई रुवाएर गाडा लानुभयो, तर उहाँको सधैँ भलो होस्

यूएन पार्कको पुलबाट दक्षिण लागेपछि बागमती किनाराको सुकुम्वासी बस्तीमा पुराना खिया लागेको टिन र पम्पलेटले छाएको, बासले बारेको एउटा झुपडी छ । सोही झुपडीमा आफ्नो दुई वर्ष एक महिनाको नानी र श्रीमानसँग बस्दै आएकी छिन् शर्मिला तामाङ ।

 

यी तिनै शर्मिला तामाङ हुन्, जसको एउटा भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । टेकुस्थित प्रसूति गृहको दुई नम्बर गेटको अगाडि ठेलामा पानीपुरी र चटपटे बेच्दै परिवारको गुजारा गरिरहेकी शर्मिलाको ठेला महानगरले उठाएपछि उनले बिलौना गरिरहेको भिडिओले महानगर र मेयर बालेन्द्र शाहको कार्यशैलीमाथि प्रश्न उठाइरहेको छ ।

गरिखाने भाँडोमा महानगरले कब्जा गरेपछि शर्मिलाले अहिले के गर्दै होलिन् रु भन्ने कौतुहलतालाई मेटाउन हामी उनको वासस्थानमा पुग्दा उनी आफ्नो २५ महिने नानीलाई काखमा च्यापेर मलिन अनुहारका साथ शर्मिलाले हामीलाई स्वागत गरिन् र आफ्नो विगत वर्तमान र भविष्यको फेहरिस्त सुनाउन राजी भइन् ।

झण्डै आधा घण्टासम्म उनी भक्कानिँदै सम्हालिँदै आफ्नो व्यथा सुनाइरहिन हामी सुनिरह्यौँ ।

 

झण्डै २ वर्ष देखी सडकमा व्यापार गर्दै आएकी शर्मिलाका श्रीमान् दिलीप खड्का विगत तीन महिनादेखि बिरामी छन् । श्रीमान् बिरामी भएपछि घरको चुल्हो बाल्ने एक मात्रै सहारा थियो, महानगरले धुलीसाँध बनाएको उनको ठेला ।

शर्मिलाका अनुसार सो ठेला पनि उनले सहयोग स्वरूप प्राप्त गरेकी थिइन् । स्वास्थ्य अवस्थामा ठिकै भइदिए त उनका श्रीमान् दिलीप पुनः घर घरमा रगं लगाउन गएर घरको खर्च टार्थे होला तर अहिलेको अवस्थामा अब कसरी घरको खर्च टर्छ भन्ने प्रश्नको जवाफ शर्मिलासँग छैन ।

 

हुन त महानगरसँग उनको जम्काभेट पहिला पहिला पनि हुने गरेको थियो तर यसरी ठेला नै उठाएर लगेको हिजो नै पहिलो पटक हो । हिजोको दिनलाई सम्झिँदा पनि शर्मिलाका आँखा रसाउँछन् । घाँटीमा गाँठो पर्छ वाक्य फुट्दैन ।

महानगरका प्रतिनिधि आउँदै छन् भन्ने थाहा भइदिएको भए आफूले हिजो ठेला नै निकाल्ने थिइन भन्छिन् शर्मिला ।

 

हिजो उनी छिट्टै नै ठेला थन्काएर श्रीमानलाई अस्पताल लाने तयारीमा थिइन रे । परिस्थिति केही असहज भएपछि उनी त्यही अड्किइन अचानक महानगरको टोली आयो उनको ठेलाका सामान लछार पछार पर्‍यो ठेलालाई गाडीमा हाल्यो ।

रोजी रोटीको बाटो खोसिन थालेपछि ठेलालाई नै अँगालो हाल्दै शर्मिला पनि महानगरको गाडीमा उक्लिन, ठेला टेकु पुर्‍याइयो । ठेला छाडिइदिनका लागि उनले हार गुहार गरिन् । राई कराई गरिन् तर उनको आवाज सुनिदिने र दुःख बुझिदिने कोही थिइन् । अन्ततः उनको ठेलामा महानगरको डोजर चल्यो । उनले त्यो दृश्य लाचार भएर हेर्न बाहेक केही गर्न सकिनन्

महानगरले आफ्नो पेटमा लात हान्दा पनि महानगर मेयर बालेन शाहप्रति उनको केही गुनासो छैन ।

 

उनी भन्छिन्, ‘यसमा मेरो भन्नु केही छैन । बरु खै कुन चाहिँ बिरामीलाई मेयर बालेनले निः शुल्क उपचार गराइदिएको थियो रे । यसका लागि उहाँलाई धन्यवाद ।’

उनलाई आशा छ, परिआएको खण्ड मेयर शाहले उनको पनि निः शुल्क उपचार गरिदिने छन् । तर उनी अब फेरी सडकमा व्यापार गर्न जाने आँट र पुजी आफूसँग बाँकी नभएको बताउँछिन् ।

मेयरले शहरको लागि राम्रै गरेको तर गरिब जनताको लागि भने ठिक नगरेको उनको बुझाई छ ।

शर्मिला आफूलाई जस्तो बज्रपात अरू कसैलाई नहोस् भन्ने कामना गर्छिन् ।

(यो सामाग्रि नेपाल प्रेसमा प्रकाशन भएको छ)

Loading...