क्रान्तिकारी कि अयोग्य काका-काकी?

– दिपा जैंशी (देउमा) 

समयको गति निकै अगाडि बढिसकेको छ । आन्दोलनका गोरेटोहरूमा हिँड्दा हिँड्दै वर्ष र दिनको मापन गर्ने फुर्सद थिएन । चाउचाउ र गुच्चा पहिलो रोजाइमा पर्नुपर्ने बाल्यकालमा, मैले ‘रातो तारा,’ ‘आमा,’ ‘नयाँ घर,’ र ‘युवाको गीत’ जस्ता क्रान्तिकारी आलेखहरूले प्रेरित भएर राजनीतिक चेतना लिन थालेँ । सानो केटो हुँदा २०६२/६३ को ऐतिहासिक जनआन्दोलनमा म गहिरो रूपमा सहभागी भएँ । उमेरले १३ बसन्त मात्र टेक्दै गर्दा, मेरो किशोर जोश, तिखो बोली, र समाजको असमानताविरुद्धको भावना मेरा नसा-नसामा छरिएको थियो ।

कक्षाकोठामा गएर पढ्न पाउने उमेर थियो, तर कलम समाउने हातमा बेल्चा र किताबको ठाउँमा दाउरा बोकेर बजार जाने मेरो दिनचर्या थियो । बिहानै दाउरा बेच्ने, दिनभर मजदुरी गर्ने, अनि पत्रिका पढ्दै घर फर्कने मेरो जिन्दगीमा, एक दिन एउटा पत्रिकाको पाना पल्टाइरहेको बेला आँखा पर्‍यो, एउटा सन्देशमा:

“जनताको अधिकार जनतामा निहित हुनुपर्दछ । जात, धर्म, लिंग, वर्ण र वर्गको आधारमा कोही ठूलो वा सानो हुनुहुँदैन । सबै नागरिकलाई समान सेवा र सुविधा उपलब्ध गराउनु राज्यको कर्तव्य हो । उच्च वर्गका ठालुहरूले निम्न वर्गका श्रमिकको शोषण गरेर धनी हुने क्रम बन्द हुनुपर्छ । गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारी जस्ता अधिकार सुनिश्चित गरिनुपर्छ ।”

यस सन्देशले मेरो मन र मस्तिष्कमा नयाँ क्रान्तिको बीउ रोपिदियो । मैले सोचें—अब आफ्नो मात्र होइन, सम्पूर्ण नागरिकका लागि केही गर्नुपर्छ । त्यसपछि म आन्दोलनको हिस्सा बनेँ । म चर्को नाराहरूको स्वरमा स्वर मिलाउँथेँ, बिनासुरक्षित जिन्दगी क्रान्तिकारी बन्ने आँट गर्दै ।

समय बित्दै गयो । आन्दोलनले सफलता पायो। विस्तृत शान्ति सम्झौता, संविधानसभा चुनाव, २४० वर्षे राजतन्त्रको अन्त्य—यी सबै उपलब्धिहरू भए । देश नयाँ युगमा प्रवेश गर्‍यो । तर, क्रान्तिको बीउ हाम्रो गाउँसम्म पनि रोपियो। माओवादी नेताहरू स्कुलसम्म आइपुगे । ‘बिद्यार्थी साथिहरू, शिक्षा प्रणालीलाई वैज्ञानिक र समाजवादी बनाउन अब संघर्ष गर्नुपर्छ । संगठनमा आबद्ध भएर अघि बढ्नुपर्छ,’ भन्दै कक्षामा क्रान्तिकारी कमिटी गठन गरियो ।

शनिबार भेला हुने, पुस्तक आदानप्रदान गर्ने, राष्ट्रिय घटनाक्रममाथि बहस गर्ने—हामी विद्यार्थीहरूको दैनिकी क्रान्तिकारी सोचले भरिएको थियो । एसएलसीपछि मलाई पार्टिकै नेताहरूको सहयोगमा काठमाडौं पठाइयो । त्यहाँ शिक्षा र राजनीति दुवैलाई अगाडि बढाउने जिम्मेवारी थामें ।

तर, समय गतिशील छ । आन्दोलनका अगुवा, विचारका वाहक, र क्रान्तिका सिपाहीहरूलाई आजको व्यवस्थाले ‘अयोग्य’ ठहर गर्न थालेको छ । ३२ वर्षको उमेर हदले मेरो क्रान्तिकारी यात्रामा नयाँ चुनौती खडा गरिदिएको छ । प्रश्न उठ्छ—३२ वर्ष पुगेपछि विश्वविद्यालय पढ्न नपाउने? ३२ वर्ष कटेपछि विद्यार्थीहरूको आवाज बुलन्द गर्न नपाउने? कि सैदान्तिक र वैचारिक परिपक्वताको मापन नै उमेर हो?

अखिल क्रान्तिकारी जस्तो संगठनभित्र यी यक्षप्रश्न अहिले बहसको मुख्य विषय बनेका छन् । के उमेरको सिमाले विचारको उचाइलाई नाप्न मिल्छ? जसले बाल्यकालदेखि आफ्नो जीवन, समय, र जोश-उत्साह विद्यार्थी आन्दोलनमा समर्पण गर्‍यो, उसलाई केवल उमेरकै कारण ‘अयोग्य’ घोषणा गर्नु कति न्यायसंगत हो?

आन्दोलनले समाजलाई रूपान्तरण गर्‍यो, तर आन्दोलनकारीहरूको आत्मसम्मानलाई कहाँ पुर्‍यायो? जुन व्यवस्था ल्याउन हजारौंले ज्यान गुमाए, त्यसले उनीहरूकै त्यागलाई किन तुच्छ बनायो? समानताको नारा लगाउनेहरूले आफ्नै सहयात्रीहरूलाई समानताको दृष्टिले हेर्न नसक्ने हो भने यो क्रान्तिको लक्ष्य के थियो? के आन्दोलनको इतिहासले सिपाहीहरूलाई सधैं ‘त्याग’ र ‘बलिदान’कै लागि मात्र सम्झने हो? के हामीजस्ता सिपाहीहरू सधैं ‘अयोग्य’को विल्ला भिरेर बाँच्नुपर्ने हो?

३२ वर्षे उमेर हदले के प्रमाणित गर्न खोजेको हो? यो उमेर सिमाले योगदान गर्न सक्ने सम्भावनाहरूलाई किन नकारिरहेको छ? के विचार, तर्क, र संघर्षका सबै मूल्यमान्यताहरू उमेरसँगै समाप्त हुने हुन्?

आज म आफैँलाई प्रश्न गर्छु—क्रान्ति र आन्दोलनको यो लामो यात्रामा मैले दिएको योगदानको कदर आखिर कसले गर्ने? के क्रान्तिकारी सोच र आन्दोलनको वास्तविक मूल्यांकन कहिल्यै हुनेछ? समय गतिशील छ, तर यो गतिशीलताले आन्दोलनकारीहरूको आत्मसम्मान किच्न पाउने छुट छैन । इतिहासले यी प्रश्नहरूको जवाफ खोज्नुपर्छ । नत्र, के क्रान्ति पनि केवल ‘काका-काकी’को कथा बनिरहेको हो?

 

(लेखक दिपा जैंशी (देउमा) केन्द्रीय सदस्य तथा अखिल (क्रान्तिकारी) उपत्यका विशेष प्रदेशकी प्रदेश सचिव हुन)

Loading...