कस्तो छ इजरायलको काम? नयाँ अवसर वा चुनौती?

इजरायल मध्यपूर्वमा स्थित एक विकसित राष्ट्र हो, जुन यहुदीहरूको देश भनेर विश्वमा चिनिन्छ । यस देशको कुल जनसंख्याको करिब बीस प्रतिशत मुस्लिम समुदाय रहेका छन् । इजरायल आधुनिकता र परम्पराको संयोजन रहेको देश हो । यहाँका यहुदी समुदायलाई दुई प्रमुख समूहमा बाँड्न सकिन्छ: एकातिर अत्यन्त धार्मिक कट्टर समुदाय र अर्कातिर आधुनिक जीवनशैली अपनाउने समुदाय ।

इजरायलले हालै २ हजार नेपाली केयर गिभर श्रमिक लाने तयारी गरेको छ । गत असारमा दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न ८०० जनाको आवेदन खुलेको थियो । हाल ८ सय जना लैजानेगरी आवेदन प्रक्रिया अघि बढेपनि अब इजरायलले ८ सयको सट्टा दुई हजार जना लैजाने गरी सहमति गरेको श्रम मन्त्रालयले जनाएको छ ।

आकर्षक गन्तव्य
अन्य देशको तुलनामा राम्रो कमाइ हुने भएकाले इजरायल नेपालीहरूको लागि एक आकर्षक गन्तव्य मानिन्छ । विशेषगरी महिलाहरूका लागि उपयुक्त गन्तव्य रहेको इजरायलमा कामको वातावरण सुरक्षित मानिन्छ । कामका लागि आएका नेपालीले इजरायली समाजमा सहजता र सद्भाव पाउने गरेको अनुभव सुनाएका छन् ।
कस्तो हुन्छ काम?
केयर गिभरको रुपमा इजरायलमा अपांग, अशक्त, मानसिक बिरामी र वृद्धहरूको हेरचाह गर्नु मुख्य जिम्मेवारी हो । घरपरिवारका अन्य सदस्यहरू काममा ब्यस्त हुने र इजरायलीहरू सुसारेको काम गर्न नरुचाउने भएकाले सरकारको आवश्यकताअनुसार विदेशबाट कामदार ल्याउने प्रचलन छ ।
अनुभव र जिम्मेवारी
इजरायलमा केयर गिभरको काम अस्पतालका नर्सहरूको जस्तै हुन्छ । बिरामीको अवस्था अनुसार काम फरक हुन सक्छ । उदाहरणका लागि मधुमेह, उच्च रक्तचापजस्ता बिरामीहरूको विशेष हेरचाह गर्नुपर्ने हुन्छ । बिरामीलाई सही खाना दिनेदेखि लिएर ब्लड प्रेसर जाँच्ने र आपतकालीन अवस्थामा एम्बुलेन्स बोलाउने जस्ता जिम्मेवारीहरू हुन्छन् ।
कस्ता छन् चुनौती?
यहाँ काम गर्ने कामदारहरूले अधिकांश समय काममै रहनुपर्ने हुन सक्छ । छुट्टी नपाउने, मानसिक तनाव, भाषाको समस्या जस्ता चुनौतीहरू सामना गर्नुपर्ने हुन्छ । काममा विविध समस्याहरू र दुख हैरानी पनि छन् । मानसिक बिरामी वा शारीरिक अशक्तता भएका व्यक्तिहरूसँग दिनभर रहनु पर्ने हुनाले मानसिक तनाव हुने समस्या पनि देखिएको छ ।
तलब र सुविधा
इजरायलमा न्यूनतम तलब सामान्यतः दुइ लाख रुपैयाँ भन्दा माथि हुन्छ । अतिरिक्त काम गरेमा ओभरटाइमको भत्ता पनि पाइन्छ । हरेक हप्ता कामदारहरूले २६ घण्टा छुट्टी पाउँछन्, तर आवश्यकता परेमा छुट्टी कटौती हुन सक्छ । यदि शुक्रबार र शनिबार बिदाको दिनमा काम गर्न परेमा ओभरटाइमको पैसा पाइन्छ ।
सामाजिक जीवन कस्तो छ?
प्रायः महिनाको दसौं तारेखमा तलब बुझेपछि नेपालीहरू छुट्टीमा निस्कन्छन् । तेलअभिव, जेरुसलेम, हाइफा जस्ता मुख्य शहरहरूमा साथीभाइहरूसँग भेटघाट र मनोरञ्जनका लागि अपार्टमेन्ट भाडामा लिएर समय बिताउने गर्दछन् । नेपाली पर्वहरू मनाउनुका साथै सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिन्छ ।

इजरायल नेपाली चेलीहरूका लागि आर्थिक रूपमा सुरक्षित र उपयुक्त गन्तव्य हो । थुप्रै नेपाली महिलाहरूले इजरायलमा कडा मेहनत गरेर आफ्नो र आफ्नो परिवारको आर्थिक अवस्था सुधार गरेका छन् । नेपाल सरकारले इजरायलमा बढी संख्यामा नेपाली कामदार पठाउन पहल गर्नुपर्ने देखिन्छ, जसले कामदारको आर्थिक स्तर उकास्नुका साथै देशको अर्थतन्त्रमा पनि योगदान पुर्‍याउन सक्छ ।

Loading...