रस्मिलाको उजुरीमा महरविरुद्ध पक्राउ पूर्जी जारी भएकाे हाे?

उच्च अदालत पाटनले ऐन महरविरुद्ध रश्मिकुमारी धामीको रिटमाथि सुनुवाइ गर्दै सरकारी वकिलले मुद्दा तामेलीमा राख्ने निर्णय बदर गरेको छ । अदालतले जाहेरी दर्ता गरी अनुसन्धान अघि बढाउन निर्देशन दिएको छ । यो आदेशसँगै महरविरुद्धको मुद्दा औपचारिक रूपमा अघि बढ्नेछ । महरविरुद्ध उच्च अदालतले पक्राउ पूर्जी जारी गरेको हो की भन्ने आसंका गर्न थालिएको छ ।

न्यायाधीश ब्रजेशकुमार प्याकुरेल र कृष्णराम कोइरालाको इजलासले मुद्दा तामेलीमा राख्ने सरकारी वकिलको निर्णयलाई त्रुटिपूर्ण ठहर गर्दै अनुसन्धान प्रक्रिया सुरु गर्न आदेश दिएको हो ।
यद्यपी सत्तारुढ नेकपा (एमाल) का केन्द्रीय सदस्य ऐन महरले आफ्नो विरुद्धको जबर्जस्ती करणी आरोपलाई झूठो, भ्रामक र प्रतिशोधपूर्ण भनेका छन् । उच्च अदालत पाटनले सरकारी वकिलको तामेलीमा राख्ने निर्णय बदर गरेपछि महरले अदालतको आदेशलाई तोडमोड गरी प्रचार गरिएको भन्दै भ्रममा नपर्न अपिल गरेका छन् ।

उनले भने, “कानुनअनुसार उच्च अदालतले पक्राउ पुर्जी जारी गर्ने अधिकार राख्दैन। आजको आदेश प्रक्रियागत त्रुटि सच्याउन भनिएको हो, तर यसलाई बङ्ग्याएर प्रचार गरिएको छ। यसलाई स्पष्ट गर्न म सबै शुभचिन्तकलाई आग्रह गर्दछु।”

 

पीडित रश्मिकुमारी धामीले सरकारी निकायले जाहेरी दर्ता गर्न अस्वीकार गरेपछि उच्च अदालतको शरण लिएकी थिइन्। उनका तर्फबाट बरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, इन्द्र अर्याल, र अञ्जना अर्यालले अदालतमा बहस गर्दै महरलाई पक्राउ गरी मुद्दा चलाउन माग गरेका थिए ।

महरले भने आफ्नो विरुद्धको मुद्दालाई झूठो र राजनीतिक प्रतिशोधका रूपमा व्याख्या गरेका छन् । उनले अदालतको आदेशलाई आफ्नो पक्षमा रहेको दाबी गर्दै भने, “यो आदेश प्रक्रियागत त्रुटि सच्याउन मात्र हो । अदालतले पक्राउ पुर्जी जारी गरेको छैन ।”

तर, पीडित पक्षका वकिलले भने अदालतको आदेशको अर्थ महरलाई पक्राउ गरी अनुसन्धान अघि बढाउनु पर्ने भन्दै स्पष्ट गरेका छन् ।

बझाङकी रश्मिकुमारी धामीले ऐन महरविरुद्ध जबर्जस्ती करणीको आरोप लगाउँदै जाहेरी दिएकी थिइन् । तर, सरकारी निकायले जाहेरी दर्ता गर्न अस्वीकार गरेपछि पीडित अदालत पुगेकी थिइन् ।

मुद्दाको सुनुवाइका क्रममा महरका भाइले अदालत परिसरमै कुटपिट गरेको घटना र पीडितले विष सेवनको प्रयास गरेको घटनाले यो मुद्दालाई थप संवेदनशील बनाएको छ ।

 

Loading...