विद्यार्थीहरूको मानसिक स्वास्थ्य प्रवर्धनका लागि शिक्षक तालिम कार्यक्रम सम्पन्न

कोन्ज्योसोम, ललितपुर – असार २:

स्वास्थ्यकर्मी युवा सञ्जालको आयोजनामा तथा नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत राष्ट्रिय युवा परिषद्को आर्थिक तथा प्राविधिक सहयोगमा “विद्यार्थीहरूको मानसिक स्वास्थ्य प्रवर्धनका लागि शिक्षक तालिम कार्यक्रम” कोन्ज्योसोम गाउँपालिका–१, चौघरेस्थित श्री वनस्पति आधारभूत विद्यालयमा सफलतापूर्वक सम्पन्न भएको छ।

 

असार १ र २ गते सम्पन्न दुईदिने उक्त तालिममा विभिन्न विद्यालयका २० जना शिक्षकहरूको सहभागिता रहेको थियो। कार्यक्रमको उद्देश्य शिक्षकहरूलाई विद्यार्थीको मानसिक स्वास्थ्यबारे सचेत गराउँदै प्रारम्भिक लक्षणहरू चिन्ने, सहानुभूतिपूर्ण व्यवहार गर्न सक्ने र आवश्यक हस्तक्षेपका उपायहरूमा दक्ष बनाउनु रहेको थियो।

 

कार्यक्रमको अध्यक्षता स्वास्थ्यकर्मी युवा सञ्जालकी अध्यक्ष अस्मिता पाठकले गर्नुभएको थियो। उहाँले शिक्षकहरूलाई मानसिक स्वास्थ्यको पहिलो पहरेदारको रूपमा प्रस्तुत गर्दै भन्नुभयो, “शिक्षकहरूलाई यस विषयमा संवेदनशील र सजग बनाउनु आजको आवश्यकता हो।”

 

कार्यक्रमका प्रमुख अतिथि कोन्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले शैक्षिक गुणस्तरसँगै विद्यार्थीहरूको मानसिक समृद्धि सुनिश्चित गर्न यस्तो कार्यक्रमले ठूलो योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “शिक्षा प्रणालीले अब शारीरिक मात्र होइन, मानसिक स्वास्थ्यलाई पनि समान प्राथमिकता दिनुपर्छ। गाउँपालिकाले यस्ता कार्यक्रमहरूलाई निरन्तर सहयोग गर्नेछ र नीति तथा कार्यक्रममा समेत मानसिक स्वास्थ्य समावेश गरिनेछ।”

 

त्यसैगरी, कार्यक्रमका विशिष्ट अतिथि राष्ट्रिय युवा परिषद्का प्रमुख प्रशासनिक अधिकृत गेहनाथ गौतमले शिक्षकहरूमा सकारात्मक व्यवहारिक परिवर्तन ल्याउने यस्ता तालिमले सम्पूर्ण शैक्षिक वातावरणमा नै सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।

 

तालिमको सहजीकरण क्लिनिकल साइकोलोजिस्ट डेसिस अर्यालले गर्नुभएको थियो। उहाँले तनाव व्यवस्थापन, व्यवहारजन्य लक्षणहरूको पहिचान, प्रभावकारी संवादकला, र विद्यार्थीलाई आवश्यकताअनुसार मानसिक स्वास्थ्य सेवा केन्द्रमा रेफर गर्ने सीपहरूमा सहभागीहरूलाई प्रशिक्षण दिनुभएको थियो।

 

कार्यक्रमको समापनमा सहभागी शिक्षकहरूले तालिम अत्यन्त उपयोगी र प्रभावकारी भएको प्रतिक्रिया दिँदै यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने माग गरेका थिए।

Loading...