धम्पुस र ब्रेकन: सम्बन्धको सातौं वार्षीक उत्सव, पार्क उद्घाटन गरिदैं

Masta Gaupalika

धम्पुस: नेपालको प्रमुख पर्यटकीय गन्तव्य धम्पुसमा ङ्यो (आल) डाँडा पार्कको औपचारिक उद्घाटन तथा धम्पुस र वेल्सको ब्रेकन शहरबीच स्थापित भगिनी (ट्विनिङ) सम्बन्धको सातौं वार्षिकोत्सव २७ माघ बिहान ११ बजेदेखि धम्पुसको पोखरी गाउँस्थित आल डाँडा पार्कमा आयोजना गरिँदै छ ।

पार्क निर्माणका लागि हाल बेलायतमा बसोबास गर्ने नेपालीहरूको संस्था ‘धम्पुस परिवार यु.के.’ ले मुख्य आर्थिक सहयोग पुर्‍याएको छ । साथै स्थानीय संघ-संस्था तथा चन्दादाताहरूको थप सहयोगमा पार्क निर्माण सम्पन्न भएको हो ।

यस योजनालाई साकार पार्न धम्पुस परिवार यु.के. का गुप्त बहादुर गुरुङले योजना परिकल्पनाकारको रूपमा काम गरेका थिए । मेजर खुसीमान गुरुङ (MVO) ले अर्थ संकलन संयोजकको जिम्मेवारी निभाएका थिए । स्थानीय स्तरमा निर्माण कार्यको नेतृत्व निर्माण समिति संयोजक क्याप्टेन रक्ष बहादुर गुरुङले गरेको शिलालेखमा उल्लेख छ।

धम्पुस परिवार यु.के. का पूर्व अध्यक्ष इन्द्र (नारण) गुरुङको कार्यकालमा निर्माण सुरु भएको यो पार्क वर्तमान अध्यक्ष धन बहादुर गुरुङको कार्यकालमा सम्पन्न भएको हो । पार्कलाई सफल बनाउन संस्थाका पूर्व अध्यक्षहरू क्या. देव बहादुर गुरुङ, दयामल गुरुङ, अमरसिद्ध गुरुङ र कुमार गुरुङको पनि महत्वपूर्ण योगदान रहेको छ ।

​गण्डकी प्रदेशका सांसद माननीय गणेशमान गुरुङको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष मीन बहादुर गुरुङ, वडा नं. ७ का अध्यक्ष बैकुण्ठ भण्डारी र धम्पुस परिवार यु.के. का पदाधिकारीहरूको संयुक्त उपस्थितिमा पार्कको समुद्घाटन गरिने छ । यो पार्कको निर्माणसँगै धम्पुसको पर्यटनमा नयाँ आयाम थपिने र नेपाल–बेलायतबिचको जनस्तरको सम्बन्ध अझ प्रगाढ हुने विश्वास लिइएको छ ।

पार्कको उद्घाटन समारोहमा सहभागी हुन धम्पुस–ब्रेकन ट्विनिङ टाउनका संयोजक मेजर खुसिमान गुरुङ एमभिओ लगायतको टोली धम्पुस आइपुगेको छ ।
आयोजकका अनुसार ङ्यो (आल) डाँडा पार्कको उद्घाटनले धम्पुसको पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थप्ने विश्वास लिइएको छ ।

धम्पुस–ब्रेकन मित्रता थप सुदृढ हुने अपेक्षा
धम्पुस र ब्रेकनबीचको भगिनी सम्बन्धले दुई फरक संस्कृति र भूगोलका समुदायहरूलाई आपसी मित्रता, सद्भाव र सहकार्यको सूत्रमा बाँध्दै आएको छ । सातौं वार्षिकोत्सवको अवसरमा आयोजना हुने कार्यक्रमले यस सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास गरिएको छ । ब्रेकनबाट आएका पाहुनाहरूले धम्पुसको प्राकृतिक सौन्दर्य, संस्कृति र आतिथ्यको अनुभव गर्नेछन् ।

 विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने
साथै सोही अवसरमा धम्पुसका सम्पूर्ण विद्यालयका छात्र–छात्रालाई पोलो सर्ट, ट्र्याकसूट सेट तथा स्टेशनरी सामग्री वितरण गर्ने कार्यक्रम पनि तय गरिएको छ । यस कार्यक्रमले विद्यार्थीहरूको शैक्षिक गतिविधिमा थप उत्साह र प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ ।
यस प्रकारका कार्यक्रमहरूले धम्पुसको सामाजिक, शैक्षिक तथा पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने आयोजक समितिको विश्वास रहेको छ ।

 

Loading...