भ्रष्टाचार विरुद्धको नागरिक प्रदर्शनमा सहभागी नागरिक अगुवा चिकित्सक डा. गोविन्द केसीले नक्कली भुटानी शरणार्थी प्रकरणमा शीर्ष नेता पनि जोडिएको शंका गरेका छन् ।
उनले पत्रकारहरूलाई प्रतिक्रिया दिँदै ठूला नेताको आड नपाइ अरू नेताहरूले भ्रष्टाचार गर्ने हिम्मत नगर्ने बताएका हुन् । उनले भुटानी शरणार्थी काण्डको अनुसन्धानमा खुट्टा कमाउनु नहुने र छानबिन विस्तृत हुनुपर्नेमा जोड दिए ।
डाक्टर केसीले अनुसन्धानमा शीर्ष नेता दोषी पाइए उनीहरूमाथि पनि कारबाही हुनुपर्ने बताए ।
‘देउवा, ओली, प्रचण्ड पनि दोषी पाइयो भने कारबाही हुनुपर्छ,’ उनले भने, ‘शीर्ष नेता भ्रष्ट नभइकन ऊ भन्दा तलको नेता भ्रष्ट हुन गाह्रो छ ।’
शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भइसकेका नेताहरू फरार हुनुले उनीहरू दोषी रहेको आशंकामा बल मिलेको उनको भनाइ छ ।
उनले अगाडि थपे, ‘निर्दोष हो भने प्रहरीमा उजुरी आउँथ्यो?, उनीहरू भाग्न खोज्नु र भाग्नु भनेका स्वतः प्रष्ट हुन्छ ।’
नेपाली नागरिकलाई नक्कली भुटानी बनाएर अमेरिका लगायतका देशमा लैजान राज्य संयन्त्रको उच्च तहमा रहेकाहरू संलग्न रहेको आरोपमा पक्राउ परेपछि नागरिक समूह शनिबार स्वत: प्रदर्शनमा उत्रिएका थिए ।