परिवर्तनको बिगुल : यथास्थितिवाद विरुद्ध नेपाली जनचेतनाको यात्रा

इतिहासका पाना पल्टाउँदै गर्दा मानव सभ्यताको सुरुवातदेखि नै दुई शक्ति बिच घमासान द्वन्द्व सधैं हुने गरेको र भएको तथ्य फेला पर्छ । त्यो द्वन्द्व हो यथास्थितिवादी र परिवर्तनकारी शक्ति बिचको संघर्ष ।

यथास्थितिवादी जसले पुरानै संरचना, पुरानै सामाजिक नियम, पुरानै व्यवस्था लाई माया गर्छन् भने परिवर्तनकारी शक्तिहरू समाजमा नयाँ मोडालिटीको परिकल्पना गर्ने गर्छन् । यथास्थितिवादी र परिवर्तनवादी शक्तिको बीचमा जहिले पनि द्वन्द्व भइरहन्छ । यही दुई शक्तिको बीचमा द्वन्द्व भएरै अहिलेसम्म परिवर्तनका अवयवहरू श्रृंखलाबद्ध रूपमा अगाडि बढेर यहाँसम्म आइपुगेको हो । हाम्रो देशको राजनीतिमा पनि यही परिवर्तनकामी र यथास्थिति चाहने बिचको द्वन्द्व इतिहासकालदेखि नै रहँदै आएको छ र अहिलेको अवस्था सम्म निरन्तर त्यो द्वन्द्व चलिरहेकै छ ।

कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सले १८४८ मा एउटा कम्युनिस्ट घोषणा पत्र, जसलाई Communist Manifesto पनि भनिन्छ, प्रकाशित गरे । त्यसको विश्व प्रभाव यति धेरै थियो कि त्यो विश्वका ठूला ठूला परिवर्तनका आन्दोलन र लडाइँको मार्गचित्र बन्यो । त्यसले विश्व समाजलाई दुई वर्गमा विभाजन गर्‍यो—हुँदा खाने र हुने खाने । यी दुई वर्ग बिचको लडाइँ सधैं विश्व राजनीतिको प्रमुख एजेन्डा बनिरह्यो । यसले समाजमा ‘हुने खाने’ ले ‘हुँदा खाने’ माथि गर्ने शासनको नकाब उतार्ने काम निरन्तर रूपमा गर्‍यो ।

यहाँ मैले नेपालमा भएको यथास्थितिवादी र परिवर्तनकारी शक्तिहरूको राजनीतिक र सामाजिक लडाइँलाई प्रस्तुत गर्ने कोसिस गरेको छु ।

नेपालको राजनीतिक द्वन्द्व

नेपाललाई कसैले हटपटयाटो, कसैले दुई ढुंगा बिचको तरुल, कसैले राजनीतिको बफर जोन भनेर सधैं चर्चा गर्ने गर्छन् । हुन पनि नेपाल विश्वका दुई विशाल शक्ति राष्ट्रहरू चीन र भारतको बिचमा रहेको सानो तर महत्वपूर्ण देश हो । राजा–रजौटाको पालादेखि नै यो देशले ठूला ठूला राजनीतिक परिवर्तन र शक्ति संघर्षको केन्द्र बन्नुपर्ने बाध्यतात्मक परिस्थिति झेल्दै आएको छ ।

पञ्चायत र राजाको पालादेखि नै सिक्किमीकरणको हावाले तर्साइ रहने हाम्रो मुलुकको परिस्थिति सधैं विदेशी शक्तिको भकुन्डो बनिरहेको इतिहासलाई नकार्न सकिँदैन । देशभित्र सधैं एक वर्गले यथास्थिति चाहने र अर्को वर्गले परिवर्तनको मुद्दा उठाइरहने हाम्रो समाजमा इतिहास हेर्दा यथास्थितिवादीलाई परिवर्तनकारीले जितेको मात्र देखिन्छ । यो स्वाभाविक पनि हो । परिवर्तन अपरिहार्य नै हो—चाहे त्यो राणा शासनको अन्त्य होस् या पञ्चायत र राजसंस्थाको विलय ।

यसमा ठूलो बलिदानपछि जित परिवर्तनकारीकै भएको छ । तर परिवर्तनकारी बिस्तारै यथास्थितिवादी बन्दै जाने खतरा सधैं रहिरह्यो । त्यसैले समाजले बारम्बार राजनीतिक परिवर्तनको बिगुल फुक्नुपर्ने बाध्यतात्मक परिस्थिति सिर्जना हुँदै आएको छ ।

राणा शासनकालमा राजा र जनता एक भएर राणा विरुद्ध होमिए । जनताले प्रजातन्त्रको सुनौलो बिहानी त देखे, तर अत्यधिक मत दिएर जिताएको बीपी कोइरालाको सरकारलाई अपदस्थ गर्दै २०१७ पुस १ गते राजा महेन्द्रले कू गरेर दलहरू प्रतिबन्धित गरी पञ्चायती शासन लागू गरे । यसले राजा स्वयं यथास्थितिवादी रहेको प्रमाण पेश गर्‍यो । त्यसपछि मुलुकले ठूलो क्षति बेहोर्‍यो र निर्दलीय पञ्चायत विरुद्ध लामो लडाइँ लड्नुपर्‍यो ।

यसको फलस्वरूप २०४६ सालको जनआन्दोलनले फेरि परिवर्तनकारी शक्तिकै जित हुन्छ भन्ने प्रमाणित गर्‍यो । पञ्चायतको अन्त्य त भयो, तर देशले पूर्ण निकास पाएको थिएन । भारतसँग गरिएका असमान सन्धि, भ्रष्टाचार र बेथिती विरुद्ध तत्कालीन माओवादीले अर्को आन्दोलनको घोषणा गरे । २०५२ फागुन १ गते राजतन्त्रको अन्त्यको माग गर्दै माओवादी जनयुद्ध सुरु भयो ।

त्यसले गाउँ–गाउँ र कुनाकाप्चासम्म राजनीतिक चेतनाको छाल मात्र पुर्‍याएन, समाजलाई यथास्थितिवादी शक्तिविरुद्ध लड्न प्रेरित गर्‍यो । तर त्यस युद्धले देशले मानविय, आर्थिक र भौतिक क्षति भने भोग्नै पर्‍यो । २०६३ को शान्ति सम्झौतापछि देश गणतन्त्रमा गयो, राजसत्ताको अन्त्य भयो । तर त्यसपछि पनि देशले अझ धेरै राजनीतिक संकट झेल्नुपर्‍यो ।

संसदीय व्यवस्थाको विरुद्ध लडेको माओवादी स्वयं संसदीय व्यवस्थाको यथास्थितिवादी खेलाडी बन्न पुग्यो । सरकार बनाउने र गिराउने खेलमा प्रचण्ड आफैं रोनाल्डो जस्तै साबित भए । कम्युनिस्ट एकता र वाम एकताको नाममा दुई तिहाइ ल्याएको मोर्चा अन्ततः केपी ओलीको नेतृत्वमा संसदको घाँटी रेट्ने यथास्थितिवादी शक्तिमा परिणत भयो ।

स्वतन्त्रको जनलहर

तीन दल (कांग्रेस, एमाले र माओवादी) बाट वाक्क भएका जनताले स्वतन्त्रको लहर ल्याएर आफू सधैं परिवर्तनकारी शक्ति रहेको प्रमाणित गरे । स्थानीय तहमा पूर्व, मध्य र पश्चिम नेपालसम्म नयाँ सोच र नयाँ विचारको उदय भयो । हर्क, बालेन र गोपी हमाल व्यक्तिका रूपमा देखिए पनि उनीहरूको उदय जनआक्रोशको विस्फोट थियो ।

निश्चित विचार र सिद्धान्तले परिपक्व नभए पनि यो राजनीति र समाजलाई यथास्थितिमा जकडिराख्ने शक्तिको विरुद्ध उभिएको आन्दोलन थियो । आजको मितिसम्म पनि उनीहरू यथास्थितिको विरुद्ध उभिएकै देखिन्छन् ।

यथास्थितिमा रमाउने शक्तिहरू अहिले पनि उनीहरूलाई कसरी यथास्थितिमा तान्ने भन्ने प्रयासमा छन् । त्यसैले उनीहरूको चर्को विरोध हुन्छ । मिल्ने भए थुन्ने र कारबाही गर्ने हर्कतसम्म यथास्थितिवादी शक्तिहरूले देखाएका छन् ।

परिवर्तनकारी रविको उदय

रविका व्यक्तिगत कमजोरीलाई एकछिन पन्छाउने हो भने, उनले पनि राजनीतिमा मौलाउँदै गएको यथास्थितिकरणलाई रोक्ने इच्छा र क्षमता बोकेका देखिन्छन् ।

स्वयं प्रचण्ड र नारायणकाजी जस्ता नेताहरूलाई “संसदीय व्यवस्था भित्र बसेर पनि केही गर्न सकिन्छ” भन्ने मरेको जस्तै देखिएको चेतनामा पुनः रक्तसञ्चार गराएको अनुभूति पनि रविको उदयसँग जोडिन्छ ।

नारायणकाजीले आफू गृहमन्त्री हुँदा ठूला ठूला भ्रष्टाचारका फाइल खोल्नु र यसमा कारवाहीको लागि प्रयास गर्नु यसैको प्रतिफल हो भन्न सकिन्छ ।

अन्त्यमा कुनै पनि बाद र व्यवस्था आउनु नै सफलताको कसी हैन । बरु सफलता यसको कार्यान्वयन पक्ष कस्तो छ ? त्यसमा भर पर्छ । ढिलासुस्ती, अनियमितता र भ्रष्टाचार माथि निर्मम नहुने हो भने चीनले कसरी प्रगति गर्न सक्थ्यो र सिंगापुर कसरी सिंगापुर हुनसक्थ्यो ।

तर रविलाई मुद्दै मुद्दाले जेलको हावा खुवाइ राखे पनि जनताले रविलाई एक परिवर्तनकारी आशाको रूपमा हेर्न भने छोडेका छैनन् ।

रवि र बालेनको मिलन

नेपाली राजनीतिका दुई पपुलिस्ट रवि लामिछाने र बालेन शाह बिच एक भद्र राजनीतिक सहमति भएको छ । जसले देश दुनियामा तरङ्ग ल्याएको छ । जेन्जी आन्दोलन पछिको अवस्थालाई लिड नगरेको आरोप खेपेका बालेनको समर्थनमा केही कमी आएको स्पष्ट देखिन्छ भने सहकारी काण्डले रविलाई झन तनावमा ल्याएको छ । यी दुवै मिल्दा पक्कै पनि Win Win situation देखिए पनि रवि र रास्वपालाई फाइदा देखिन्छ । बालेनलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेर चुनावमा जाने सहमति भए पनि अहिलेको संसदीय व्यवस्था अनुसार त्यो दुई तिहाइ ल्याउन सकेमा सम्भव छ । पुराना जरा गाडेका कांग्रेस र एमालेले त्यो हुन दिने सम्भावना छैन भने अर्को शक्ति प्रचण्ड र उनको नेपाली कम्युनिस्ट पार्टीले पनि आफूलाई प्रमुख दाबेदारको रूपमा लिएको छ । अरु स्वतन्त्रहरू हर्क र कुलमानले आआफ्नो पार्टी खोलेको कारण रास्वपाको भोटमा केही कमी आउन सक्ने अनुमान पनि लगाउन सकिन्छ । खैर बालेन र रविको मिलनले नेपाली राजनीतिमा परिवर्तनकारीहरू सधैं अगाडि हुने भन्ने कुरा चाहिँ स्पष्ट देखिन्छ ।

जेन्जी आन्दोलन र राजनीतिक परिवर्तन

देशले एक विकराल मोड लिने गरी भदौ २३ गते देशमा २८ वर्ष मुनिका जेन जेड पुस्ताले आन्दोलन गर्छन् । त्यो आन्दोलनलाई दबाउन तत्कालीन केपी ओली सरकारले गोलीको वर्षा गर्छ र ७० जना भन्दा धेरै विद्यार्थीको मृत्यु हुन्छ भने सयौं घाइते हुन्छन् । यो घटना यहीँ रोकिँदैन । यसको फलस्वरूप देशमा ठूलो आन्दोलन हुन्छ र देश आगोमा दन्किँदै बल्छ । केपी ओलीले राजीनामा दिन्छन् र हेलिकप्टर चढेर भाग्नुपर्ने अवस्था आउँछ । राजनीतिक दलका नेताहरू सबै लुक्छन् । उनीहरूका घरसँगै सरकारी सम्पत्ति जलाइन्छ । पूर्व प्रधानमन्त्री देउवा दम्पती माथि हातपातदेखि पूर्व प्रधानमन्त्री झलनाथ खनालकी पत्नीलाई जलाउने कामसम्म हुन्छ । यसमा जेन्जीको हात भन्दा पनि आन्दोलन नै हाइज्याक भएको आशंका गरिन्छ । देश नै नरहने अवस्था सिर्जना भएपछि जेन्जी पुस्ताले पूर्व प्रधान न्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठन गर्छ । यसले यथास्थितिवादी र परिवर्तनकारी बिच सधैं द्वन्द्व हुने कुरा स्पष्ट रूपमा देखाउँछ । यथास्थितिवादीहरू आफ्नो पहुँच र पावरलाई नगुमाई सधैं कमजोर माथि शासन गर्न चाहन्छन् भने परिवर्तनकारीहरू त्यसको विरुद्धमा लड्ने प्रयत्न सधैं गर्छन् ।

(लेखक नरेश कुँवर पेशाले शिक्षक हुन्) 

Loading...