कर्णाली स्वास्थ्य विज्ञानले देशमै अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिइरहेको छ: शिक्षाध्यक्ष धामी
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान दुर्गममा अवस्थिति असम्भावनालाई सम्भावनामा बदल्न पुगेको ‘प्याराडायम सिफ्ट’को ज्वलन्त उदाहरण हो ।
कर्णाली प्रदेशको जुम्लामा अवस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले दुई दिने पाठ्यक्रम कार्यशाला आयोजना गरेको छ । साउन ७ र ८ गते प्रतिष्ठानले राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र टेकुमा कार्यशाला आयोजना गरेको हो । कार्यशालाको उद्घाटन सत्रमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहकुलपति प्रदीप पौडेल उपस्थित भएका थिए ।
प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावल, चिकित्सा शिक्षा आयोगका अध्यक्ष प्राडा अन्जनी कुमार झा, न्याम्स र रापती प्रतिष्ठानका उपकुलपतिहरू, स्वास्थ्य मन्त्रालयका सचिव, रजिस्ट्रार तथा डीनहरू र विज्ञ चिकित्सक लगायतको उपस्थितिका बिच कार्यक्रम उद्घाटन गरिएको थियो ।
कार्यशालाको उद्घाटन सत्रमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष डा. डबल बहादुर धामी (हिमाल)ले मन्तव्य राखेका थिए । कार्यक्रममा बोल्दै शिक्षाध्यक्ष धामीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान दूर दराजमा अवस्थिति भौगोलिक, राजनीतिक र सामाजिक चुनौतीलाई सामान गर्दै असम्भावनालाई सम्भावनामा बदल्न पुगेको ‘प्याराडायम सिफ्ट’को ज्वलन्त उदाहरण भएको उल्लेख गरेका थिए ।
‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पर क्षितिज पारी, तिला कर्णाली नदीको छेउमा, मार्सी धान, स्याउ सिमी तथा गरिबी फल्ने दूर दराजमा अवस्थिति ‘प्याराडायम सिफ्ट’को ज्वलन्त उदाहरण हो, धामीले भनेका थिए, प्रतिष्ठानले देशको मानव विकास सूचकाङ्क (एचडिआई) लाई नै बदल्न सक्ने संस्थाको रूपमा रहेको छ । त्यसैले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकिसा विज्ञान राष्ट्रिय प्रतिष्ठान, आइओएम, आदिलाई हेर्ने जस्तो आँखाले हेर्ने भन्दा पनि अझ गहिरो दृष्टिकोणले अझ संवेदनशील भएर हेर्दा मात्र यसको महत्त्व बुझिन्छ ।’
प्रतिष्ठानले ३ सय बेडको अस्पताल सहित चार वटा महाविद्यालय, फार्मेसी महाविद्यालय, जनस्वास्थ्य महाविद्यालय, नर्सिङ महाविद्यालय तथा चिकित्सा महाविद्यालय मार्फत ब्याचलर र मास्टर गरी चार सय भन्दा बढी देश भरीका र भारतका विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको शिक्षाध्यक्ष धामीले अवगत गराएका थिए ।
प्रतिष्ठानले उत्कृष्ट नतिजा प्रदर्शन गर्दै दक्ष जनशक्ति तयार गर्दै आएको कुरामा धामीले जोड दिएका थिए । म्यारिटो क्रेसीको आधारमा विद्यार्थी भर्ना हुने प्रावधानले गर्दा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले उत्कृष्ट विद्यार्थी पाइरहेको धामीले उल्लेख गरेका थिए । ती उत्कट विद्यार्थीलाई व्यावसायिक रूपमै उत्कट बनाउन प्राध्यापक तथा शिक्षकहरूले उत्कृष्टता प्रदर्शन गरिरहेको ब्यहोरा अवगत गराएका थिए । जसलाई बिद्यार्थीहरुले सम्बन्धित लाइसेन्स परीक्षाहरूमा शतप्रतिशत उत्तीर्ण हुनुले प्रमाणित गरी सकेको दाबी गरेका थिए ।
मन्तव्यका क्रममा बोल्दै कर्णाली स्वास्थ्य विज्ञानका विद्यार्थीले हाभर्ड र अक्सफोर्डकै स्तरको शिक्षा पाइरहेका शिक्षाध्यक्ष धामीले बताएका छन् ।
‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थी जुम्ला अस्पतालमा मात्र केन्द्रित नभई कम्युनिटी स्वास्थ्य प्रोग्राम अन्तर्गत दुर्गमको पनि दुर्गम गाउँका घर घरमा, बस्ती बस्तीमा सेता कोट लगाएका डाक्टर बिद्यार्थीहरु पुगेर शिक्षा लिई रहेको छन् । जुन कुरा कुनै हाभर्ड र अक्सफोर्ड विश्व विद्यालयमा लिएको शिक्षा भन्दा कम नरहेको कुराको अनुभूति हुने गरेको छ । तसर्थ, सिंहदरबारले, सुर्खेतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कुनै पूर्वाग्रही नराखी बिशेषरुपमा हेर्नु पर्ने र हेरी दिन आग्रह गर्न चाहन्छु ।’
बजेट व्यवस्थापन भए निकट भविष्यमै दश लाख जनसङ्ख्याको क्याच्मेंट एरिया रहेको कालिकोट, दैलेख, हुम्ला, बाजुरा अछाम को सङ्गम स्थल राकम कर्णालीमा एक सय बेडको सेटे लाइट अस्पताल बनाउने तयारी रहेको धामीले उल्लेख गरे ।