बझाङका ऐडीको सङ्घर्ष: ९० हजारको पसल ५ करोडको ब्रान्ड बन्यो

अत्तरिया चोकबाट सय मिटर दक्षिणतर्फ लाग्दा दायाँतिर एउटा नयाँ बजार विकास भएको छ । यो मार्केटको नाम हो श्रीकृष्ण मार्केट । श्रीकृष्ण मार्केटभित्र रेस्टुराँ, खुद्रा तथा होलसेल पसलको उपस्थिति छ । त्यस मध्ये पनि अधिकांश पसलका होर्डिगं बोर्डमा एउटा नाम बरमोझियाको पेडा पसल जस्तै दोहोरिएको छ । श्रीकृष्ण मार्केटभित्रका अधिकांश होर्डिगं बोर्डको अगाडि ‘झलक’ लेखिएको भेटिन्छ । झलक सिलाई मेसिन, झलक सप्लायर्स जोन, झलक ट्रेडर्स, झलक इनर उद्योग—सबै एउटै गल्लीमा सञ्चालनमा छन् ।

श्रीकृष्ण मार्केटभित्र झल्किएको झलक ब्रान्डको रहस्य बुझ्न २०३७ सालतिर फर्किनु पर्ने हुन्छ ।

२०३७ सालमा बझाङको कडेंल गा.बि.स. वडा नं. २ मुम्लामा झलक ऐडीको जन्म भयो । मुम्ला हालको छबिसपाथिभेरा–२ मा पर्छ । बुवा हरिकृष्ण ऐडी र आमा लक्ष्मीदेवी ऐडीका दुई दाजुभाइमध्ये उनी जेठा ।

झलकले विद्यालय शिक्षा सत्यवादी मा.वि. बाट लिए । ऐडी पढाइमा मेधावी विद्यार्थी थिए । कक्षा १ देखि १० सम्म नै उनी कहिले प्रथम, कहिले दोस्रो हुन्थे ।
२०५७ सालमा उनले एस.एल.सी. पास गरे । उच्च शिक्षा अध्ययन उनका लागि चुनौतीको विषय थियो । पारिवारिक अवस्था निकै दयनीय । आमा घरको काम गर्थिन्, बुवा भारतको नयाँ दिल्लीमा काम गर्थे ।

एस.एल.सी. पछि बुवा हरिकृष्णले ऐडीलाई तराई झर्न सुझाव दिए । उनी बझाङबाट धनगढी झरे । धनगढीको कैलाली बहुमुखी क्याम्पसमा भर्ना भए । मेजर गणित विषय लिएर ऐडीले कक्षा १२ पुरा गरे ।
ऐडी परिवारको आयस्रोत भनेकै हरिकृष्णको परदेशी नोकरी थियो । दिल्लीमा अनेकौँ दुःख, कष्ट खेपेर हरिकृष्णले परिवार धानेका थिए । परिवारको जेठो सदस्य भएकाले त्यसपछिको भार झलककै काँधमा थियो ।
“बुवाले दिल्लीमा काम गरेर पठाएको पैसाले कहिल्यै अपुग हुन दिएन । तर उहाँले भोग्नु भएको दुःख सम्झँदा आज पनि मन भारी हुन्छ । बुवालाई सहयोग गर्न पाए हुन्थ्यो भन्ने कुराले सधैँ पिरोलिरहन्थ्यो ।”

कक्षा १२ अध्ययनपछि ऐडी महेन्द्रनगरस्थित बजैनाथ इन्जिनियरिङ क्याम्पसबाट ३ वर्षे डिप्लोमा गरे । डिप्लोमा सकेर चार वर्ष एउटा एनजिओमा जागिरे भई सुदूरका पहाडी जिल्ला चाहारे । तर उनको सपनाको आयतन भने अझै ठुलो थियो । एनजिओको जागिरमा उनको मन अडिन सकेन । थप अध्ययनका लागि जागिर विट मार्दै राजधानी होमिए । काठमाडौँ आएर ब्याचलर इन इन्जिनियरिङ पढ्न थाले । दिनमा जागिर, रातमा पढाइ । उता बुवा भने निरन्तर दिल्लीमै ।

झलकलाई पढ्दै गर्दा नै व्यवसाय गर्ने हुटहुटी थियो । तर के गर्ने भन्ने योजना भने स्पष्ट थिएन । बुवा हरिकृष्णले दिल्लीमा करिब १५ वर्ष सिलाई–कटाइ मेसिन मिस्त्रीको काम गरेका थिए । झलकलाई हरेक पटक लाग्थ्यो—“बा नेपालमै हुनुहुन्थ्यो त कस्तो हुन्थ्यो!”
बुवाको घर्कीदोँ उमेर । परिवारको थप जिम्मेवारी । यसैबिच ऐडीले नेपालमै केही व्यापार व्यवसाय गर्ने मनसाय बनाए । त्यति बेला अहिले जस्तो हात हातमा मोबाइल थिएन । राजधानीको एउटा ल्यान्ड लाइन फोनबाट उनले बुवासँग कुरा गरे भने, “बा, अब हामी आफ्नै व्यापार गरौँ । नेपालमै सिलाई–कटाइ मेसिनको पसल खोलौँ ।”

विगत सम्झिँदै ऐडी भन्छन्, “बुवा पनि सहमत हुनु भयो । मैले काठमाडौँमा काम गरेर जम्मा गरेको केही रकम र बुवाले दिल्लीमा जोहो गरेको रकम जोडेर करिब ९० हजार तयार भयो । योजना बन्यो—कैलालीको अत्तरियामा सिलाई–कटाइ सम्बन्धी मेसिनको पसल खोल्ने ।”

अत्तरियालाई संयोगले हैन, सोचेरै छानेको ऐडी बताउँछन् । सुदूर पहाडको मुख्य जंक्शन, जहाँ पहाड र मधेसका बाटोहरू भेटिन्छन् । त्यहीँ २०६८ सालतिर एउटा नयाँ पसल जन्मियो—झलक सिलाई मेसिन तथा धागो पसल । आमा लक्ष्मीदेवीलाई समेत अत्तरियामा बोलाइयो । पसल सानो थियो, तर सपनाको जग ठुलो ।
झलकले राजधानीमै पढाइ सकाउँदै गर्दा अत्तरियाको व्यापार सामान्य ढङ्गले चलिरहेको थियो । थोरै लगानीले थोरै आम्दानी भइरहेकोले उनलाई त्यो कामले चित्त बुझाउन सकेन । भित्री मनमा अझ ठुलो सपना थियो । त्यसैले उनले परदेश जाने निर्णय गरे । उनी खाडी हानिए । करिब चार वर्षसम्म उनले मरुभूमिको तातो बालुवामा पसिना बगाए, दिनरात काम गरे र त्यसैको आम्दानीलाई नेपाल फर्किएर व्यवसायमा थपे ।

९० हजार रुपियाँको लगानीबाट सुरु भएको सानो छाप्रो पसल बिस्तारै बढ्दै गयो । धागो र मेसिन मात्र बेच्ने साधारण पसल समयसँगै विश्वास र गुणस्तरको प्रतीक बन्दै गयो । ग्राहकहरूको भरोसा र परिवारको निरन्तर मेहनतले व्यापारलाई नयाँ उचाइ दिएकाे छ । अहिले झलक ऐडीले सुरु गरेको त्यो सानो प्रयास ५ करोड लगानीको व्यवसायमा परिणत भएको छ । अत्तरियाको भिडभाड बजारमा झलकको पसल मात्र पसल रहेन, सुदूरका जिल्लाहरू—बझाङ, बाजुरा, दार्चुला, अछाम, डोटी, बैतडीसम्म पुग्ने ब्रान्ड बनेकाे छ । ग्राहकहरूको मनमा “झलक सिलाई कटाइ मेसिन” नाम विश्वसनीयतासँग जोडिन पुगेकाे छ । अहिले यो व्यवसाय १५ जना युवायुवतीलाई रोजगारी दिने ठाउँ बनेको छ, जसले अरूका जीवनलाई समेत परिवर्तन गर्ने अवसर सिर्जना गरेको छ ।

अत्तरिया श्रीकृष्ण मार्केटमा अहिले झलक परिवारकै आधिपत्य छ । झलक सिलाई मेसिन, झलक सप्लायर्स जोन, झलक ट्रेडर्स, झलक इनर उद्योग—सबै एउटै गल्लीमा सञ्चालनमा छन् । बुवा हरिकृष्ण, आमा लक्ष्मीदेवी र भाइ प्रविन समेत आज यही व्यवसायमा सक्रिय छन् । दिल्लीमा बिताएको आधा जीवनको पीडादायी अनुभव आज नेपालमै सफलताको मुस्कानमा परिणत भएको छ ।
झलक ऐडी भन्छन्, “जीवन सङ्घर्ष हो । निरन्तर सङ्घर्ष गरिरहनुपर्छ ।”


व्यवसायसँगै उनले समाजसेवालाई पनि प्राथमिकता दिएका छन् । उनीसहितका जोसिला युवाहरूको सक्रियतामा अत्तरियामा बझाङ्गी सेवा समाज गठन गरिएको छ । हाल उनी समाजका अध्यक्ष छन् ।
समाजमार्फत बझाङबाट कैलाली झरेका परिवारलाई सहयोग पुर्‍याउने, आपत्कालमा रक्तदान गर्ने, अनाथ तथा अपाङ्ग बालबालिकालाई आर्थिक सहयोग गर्ने काम गर्दै आएका छन् । अहिलेसम्म करिब २० जना बिरामीलाई रक्तदान गरिएको छ ।
बुबाको दिल्लीको पसिना, आमाको गाउँको दुःख र आफ्नै सङ्घर्षले जोडिएको एउटा सपना आज साकार भएको छ । सानो छाप्रोमा सुरु भएको व्यापार अहिले ठुलो ब्रान्ड बनेको छ ।

Loading...