केदारस्युँको नारुगौंडामा पहिरोसँगै खसेको ढुङ्गा अझै हटेन, यात्रुलाई सास्ती 

Hardware adds
बझाङ, जयपृथ्वी राजमार्ग अन्तर्गत केदारस्युँ गाउँपालिका-१ नारुगौंडामा  पहिरो सँगै खसेको ठुलो ढुङ्गा अझै हटाउन नसक्दा यात्रु तथा सवारी चालकले गम्भीर समस्याको सामना गर्नुपरेको छ। महिनौँअघि खसेको ढुङ्गा सडककै बिचमा रहँदा सडक साँघुरो भएको छ । जसले ठुला सवारी साधनलाई जोखिमपूर्ण यात्रा गर्न बाध्य बनाएको छ ।

 

दैनिक आवतजावत गर्ने यात्रुहरूले घण्टौँ ट्राफिक जामको सामना पनि गर्नुपरेको बताउँछन् । यसले न केवल समय खेर गएको छ, तर यात्राको सुरक्षामाथि पनि गम्भीर प्रश्न खडा भएको छ। स्थानीय बासिन्दाहरूले पालिका प्रतिनिधि र सांसदहरूको उदासीनताप्रति आक्रोश व्यक्त गरेका छन्।

 

नारुगौंडाको यस समस्याबाट जिल्लाका नागरिकले सास्ती भोगिरहेका छन् । बझाङबाट चुनाव जितेर गएका सांसदले समेत सो क्षेत्रबाट २-३ पटक यात्रा गरे तापनि समस्या समाधानतर्फ कुनै चासो नदेखाएको भन्दै स्थानीयले आलोचना गरेका छन् ।

 

सडक डिभिजन कार्यालय र स्थानीय पालिकाले ढुङ्गा हटाउने प्रक्रिया सुरु गर्ने योजना रहेको बताए पनि अहिलेसम्म कुनै ठोस कदम चालिएको छैन । उपकरणको अभाव र प्रशासनिक झन्झटलाई कारण देखाउँदै समस्या समाधानमा ढिलाइ भएको अधिकारीहरूले बताउने गरेका छन्  ।

 

स्थानीय बासिन्दा र यात्रीहरूले तत्काल  ढुङ्गा हटाउन माग गर्दै  चेतावनी दिएका छन् । यातायात सञ्चालनलाई सहज बनाउन ढुङ्गा हटाउने काममा सरोकारवालाहरूले तत्काल कदम चाल्नुपर्ने आवश्यक रहेको र जनताको सेवामा निर्वाचित प्रतिनिधिले जिम्मेवारी पूरा गर्न ध्यान दिनुपर्ने स्थानीयहरूको भनाइ छ ।
Loading...