दार्चुलाको अपि हिमाल गाउँपालिकाका अध्यक्ष भक्त सिंह ठेकरे नेतृत्वको टोलीले अन्तर स्थानीय सरकार अनुभव आदानप्रदान तथा अध्ययन अवलोकन भ्रमणलाई सफलतापूर्वक सम्पन्न गरेको छ । भ्रमणका क्रममा टोलीले गाउँपालिकाका विभिन्न समस्याहरू समाधानका लागि प्रमुख राजनीतिक दलका शीर्ष नेतृत्वहरूसँग भेटघाट गरी ज्ञापन पत्र बुझाएको हो ।
अध्यक्ष ठेकरेले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन् । यस ज्ञापन पत्रमा खण्डेश्वरी मुकामसम्म सडक निर्माण, वडा नं. ३ विभाजन गरी थप वडा बनाउने, र पालिकाका विभिन्न भागमा विद्युतीकरणका लागि पहल गर्न माग गरिएको छ ।
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सम्बन्धित विभागीय मन्त्रीहरूसँग भेटघाट गर्ने योजना भए पनि कार्य व्यस्तता र समय अभावका कारण भेट हुन नसकेको अध्यक्ष ठेकरेले जानकारी दिएका छन् । तथापि, सम्बन्धित निकायमार्फत ज्ञापन पत्र हस्तान्तरण गरी आवश्यक पहलहरू अगाडि बढाइएको उनले बताए ।
समग्रमा अपि हिमाल गाउँपालिकाका समस्या समाधानका लागि प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले सकारात्मक प्रतिबद्धता व्यक्त गरेका छन् । अध्यक्ष ठेकरेले यस कार्यमा साथ दिनुहुने सम्पूर्ण प्रतिनिधिहरूप्रति आभार व्यक्त गर्दै गाउँपालिकाको विकास र समृद्धिका लागि सबैले सहकार्य गर्नुपर्ने बताएका छन् ।