केदारस्युँ-५ मा एकल महिलाका लागि ७ दिने अचार बनाउने तालिम सम्पन्न

केदारस्युँ गाउँपालिका–५ मा एकल महिलाहरूलाई लक्षित गरी ७ दिने अचार बनाउने तालिम सम्पन्न भएको छ । ‘उपाध्यक्ष कोसेली कार्यक्रम’ अन्तर्गत एकल महिलाहरूलाई आत्मनिर्भर बनाउन तथा जिविकोपार्जनमा सहयोग पुर्‍याउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।

गाउँपालिका उपाध्यक्ष मनिषा धामीका अनुसार तालिम फागुन ११ गते सुरु भई निर्धारित ७ दिनपछि सफलतापूर्वक सम्पन्न भएको हो । उनले तालिममा सहभागी सबै महिलाहरूले उत्कृष्ट अचार उत्पादन गरेको बताउँदै धन्यवाद व्यक्त गरिन् ।

यस्ता सिपमूलक तालिमहरू एकल महिलाहरूलाई आर्थिक रूपमा सक्षम बनाउनका लागि महत्वपूर्ण हुने भएकाले केदारस्युँ गाउँपालिकाका ९ वटै वडाका एकल महिला समूहलाई लक्षित गरी विभिन्न प्रकारका कृषि तथा सिपमूलक तालिमहरू सञ्चालन गरिँदै आएको छ ।

यसअघि, केदारस्युँ–७ भामचौर–भामचौर र काँडाचौरका महिलाहरूलाई सामूहिक आलु खेती गर्नका लागि आलुको बीउ वितरण गरिएको थियो । यस क्रममा गाउँपालिका जनप्रतिनिधिहरू सोही वडामा पुगेर महिलाहरूलाई प्रोत्साहन गरेका थिए । गाउँपालिकाले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

Loading...