दयाहाङ राईले निर्देशन गरेको चर्चित नाटक ‘डिग्री माइला’मा आधारित रहेर सोही शीर्षकमा चलचित्र निर्माण हुने भएको छ । मण्डला थियटरमा तीन पटक मन्चन गरिएको उक्त नाटकलाई दर्शकहरुले निकै नै रुचाएको थिए, जसको कारण अब यसलाई चलचित्रमा रुपान्तरण गर्न लागिएको हो । भर्खरै ‘फूलबारी’को निर्देशन सकेका रामबाबु गुरुङले यस चलचित्रको पटकथा लेखन साथै निर्देशन गर्नेछन् । चलचित्रमा नायकको रुपमा दयाहाङ राईले नै खेल्ने पक्का भइसकेको छ । रामबाबु र दयाहाङले ‘कबड्डी’ सिरिज, ‘पुरानो डुंगा’, ‘मिस्टर झोले’, ‘सेन्टी भाइरस’, ‘फूलबारी’ लगायत थुप्रै चलचित्रमा सहकार्य गरिसकेका छन् । चलचित्रमा दयाहाङसँगै विजय बराल, बुद्धि तामाङ, माओत्से गुरुङ, पुष्कर गुरुङ, प्रकाश घिमिरे लगायतका कलाकारहरुको अभिनय रहनेछ । नायिका भने केही समयमै फाइनल गरिने बताइएको छ ।
बाँसुरी फिल्म्सको व्यानरमा निर्माण हुने चलचित्रले शैक्षिक बेरोजगारीको कथा भन्नेछ । ‘डिग्री माइला’ नामक पात्रसँग स्नातकोत्तरको प्रमाणपत्र भएतापनी उसले आफूले पढेको ज्ञानलाई व्यवहारमा उतार्न नसक्नुलाई चलचित्रले व्यंग्य गर्नेछ । चलचित्रलाई आगामी दशैंमा रिलिज गरिने तयारी निर्माण पक्षले गरेको छ ।