नयाँ शैक्षिक सत्र २०८१ का लागि वैशाख २ गतेदेखि देशभर विद्यार्थी भर्ना अभियान सुरु हुँदै छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यार्थी भर्ना अभियान सहजीकरण कार्य योजना तयार गरी कार्यान्वयनका लागि स्थानीय तह र अन्य सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।
सामाजिक विकास कार्यालय बझाङले विद्यार्थी भर्ना राष्ट्रिय अभियानलाई मूर्तरूप दिन चरणबद्ध कार्यक्रम सार्वजनिक गरेको छ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने आदर्श वाक्यका साथ शैक्षिक सत्र २०८१ को विद्यार्थी भर्ना अभियान सञ्चालन गर्न गराउन हुन जिल्ला स्थित सम्पूर्ण स्थानीय तह, विद्यालय, शैक्षिक संस्था, शिक्षा क्षेत्रमा कार्यरत गैर सरकारी सङ्घ संस्था तथा सम्बद्ध निकायमा सामाजिक विकास कार्यालय बझाङले अनुरोध गरेको छ ।
वैशाख पहिलो हप्ता विद्यार्थी भर्ना तथा स्वागत कार्यक्रम सञ्चालन गर्न र दोस्रो हप्तादेखि वैशाख मसान्तसम्म नियमित पठनपाठनका साथै घरदैलो लगायतका कार्यक्रम सञ्चालन गरी विद्यालय उमेर समूहका विद्यालय बाहिर रहेका सबै बालबालिका विद्यालयमा भर्नाको पहल गर्न सरोकारवाला सबैमा अनुरोध गरिएको सामाजिक विकास कार्यालय बझाङका प्रमुख प्रयाग राज जोशीले बताए ।
साथै, विद्यालयहरूलाई आआफ्नो सेवा क्षेत्र भित्रका अभिभावलाई टेलिफोन, इन्टरनेट तथा सामाजिक सञ्जाल समेतका माध्यमबाट सूचना प्रवाह गरी भर्ना गर्न लगाउने व्यवस्था मिलाउन हुन सबै विद्यलायहरुलाई सूचित गरिएको प्रमुख जोशीको भनाई छ ।
साथै, अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षाको प्रावधान कार्यान्वयन गर्न आफ्ना नानीबाबुहरुलाई २०८१ वैशाख महिना भित्र अनिवार्य रूपमा विद्यालयमा भर्ना गराउन हुन आम अभिभावकहरूलाई अनुरोध गरिएको जोशीको भनाई छ ।
विद्यालय बाहिर रहेका विद्यालय उमेर समूहका बालबालिका, सीमान्तकृत समुदायका बालबालिका तथा अपागंता भएका बालबालिकाको पहिचान तथा भर्ना गर्न प्रोत्साहित गर्ने कार्यमा सहयोग गर्न सार्वजनिक जीवनमा रहेका व्यक्ति, कलाकार, राजनैतिक व्यक्ति, नागरिक समाज, पत्रकार, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ, बालक्लव, विद्यालयका उच्चतम तहका विद्यार्थी, आमा समूह, शिक्षा क्षेत्रमा कार्यरत सङ्घसंस्थाहरूमा समेत सामाजिक विकास कार्यालय बझाङले अनुरोध गरेको छ ।
सबै जिल्लामा पाठ्यपुस्तक पुर्याइयो
नयाँ शैक्षिक सत्र सुरु हुनु तीन दिन अगावै जनक शिक्षा सामग्री केन्द्रले ७७ वटै जिल्लामा पाठ्यपुस्तक पुर्याएको छ। केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले देशका विभिन्न भागमा रहेका नौ वटा बिक्री केन्द्रमा शैक्षिक सत्र–२०८१ का लागि सबै विषयका पुस्तक छापेर पुर्याइएको बताए ।
केन्द्रले प्रकाशन गरेको कार्यतालिका अनुसार विराटनगर, जनकपुर, सानोठिमीस्थित केन्द्रीय कार्यालय, भरतपुर, पोखरा, बुटवल, नेपालगन्ज, सुर्खेत र धनगढीबाट यही चैत १३ देखि २८ गतेसम्म पाठ्यपुस्तक बिक्री भएका छन् ।