परदेशबाट रित्तो हात फर्किने डर

भारत बैंग्लोरको भीडमा काम खोज्दै भौतारिएँ

म आज कामको खोजीमा बेंगलोर आइपुगेको छु । तर यहाँ आएपछि एउटा कुरा बुझेँ, यो अन्जान सहरमा चिनेका जस्ता लाग्ने मानिसहरू पनि धेरैजसो अन्जान नै हुँदोरहेछन् । घरमा हुँदा म आमाबाबुको मायामा पुलपुलिएर हुर्किएको मान्छे । काम गर्न जा भन्दा कहिलेकाहीँ रिसाएर कोठामा गएर सुत्थेँ । तर आज यही म परदेशमा जे काम गर्न पनि तयार भएर काम खोज्दै हिँडिरहेको छु ।
म बेरोजगार छु, तर घरबाट निस्कँदा एउटा सपना बोकेर आएको थिएँ, परिवारलाई खुसी दिन्छु । आज भने आफैंसँग सोध्छु, मेरो हालत के छ? कसलाई सुनाऊँ आफ्ना पीडा? कहिलेकाहीँ लाग्छ, म सबैको बोझ बनेको त होइन? तर त्यही बेला सम्झिन्छु, घरमा मेरा आमा बा छन्, मेरी श्रीमती छे, र मेरी सानी छोरी छे, जसले सायद अझै पनि मलाई पर्खिरहेका छन् । त्यही सम्झनाले फेरि भोलि बिहान काम खोज्न हिँड्ने हिम्मत दिन्छ । भोक, तिर्खा सबै बिर्सेर दिनभरि काम खोज्दै हिँड्छु । तर साँझ हुँदा काम नमिलेपछि निराश अनुहार लिएर आफन्तको कोठामा फर्किन्छु ।
उनीहरू सोध्छन्, काम मिलेन? म मुस्कुराउन खोज्दै जवाफ दिन्छु,“अहिलेसम्म मिलेको छैन । खोज्दै छु ।” राति सुत्न जाँदा भने मनभित्र धेरै कुरा चलिरहन्छ । म मेरा बुबालाई सम्झिन्छु, दिनरात मेहनत गरेर घर चलाउने मेरा भगवान् जस्ता बुबा । मनमनै सोध्छु
“बा, तपाईंले यति धेरै दुःख कसरी सहनुभयो? म त अब थाकिसकेँ ।” बुवा भन्नुहुन्छ, “बाबु, धेरै दुःख नगर, घर फर्केर आऊ ।” तर फेरि अर्को आवाज आउँछ, लाज लाग्दैन? कमाएर आउँछु भनेर गएको, फेरि रित्तो हात फर्किने?
अनि मलाई याद आउँछ, केही महिनापछि मेरी छोरीको जन्मदिन छ । म के लिएर जाऊँ उसलाई? हिजो एउटा घरमा काम पाइने जस्तो लागेको थियो । तर त्यहाँ पुगेपछि मलाई कामबाट निकालियो ।कारण, मेरो कपाल लामो थियो । त्यसपछि झन् मन भारी भयो ।घरको झन् धेरै याद आयो । म सडकको छेउमा उभिएर रुन खोजेँ ।
तर चारैतिर गाडीका हार्न बजिरहेका थिए, मेरा आँसुहरूलाई यत्तिकैमा  रोकिएको थियो । त्यही बेला सम्झिएँ घरबाट निस्कँदा बुबाले दिएको हजार रुपैयाँ । पहिले म भन्थेँ, “यति थोरै पैसाले के हुन्छ?”
आज भने थाहा भयो, पैसाको मूल्य कति ठूलो हुन्छ भनेर । यत्तिकै सोच्दै बस्दा घरबाट भिडियो कल आयो । स्क्रिनमा बुवा, आमा सबै देखिनुभयो । उहाँहरूले सोध्नुभयो काम मिल्यो कि बाबु? मैले झूटो मुस्कान बनाउँदै भनेँ  “अहिलेसम्म मिलेन… खोज्दै छु । केही दिनभित्र सुरु हुन्छ होला ।” लामो कुराकानीपछि बुवाले भन्नुभयो नत्र घर फर्केर आऊ बाबु । त्यो सुनेर एकछिन त मन हलुका भयो ।
तर  घर फर्किँदा के लिएर जाऊँ? भन्न्र प्रश्न मेरो मनमा उब्जिरह्यो । आज म मनमनै भनिरहेको छु “बुवा, मलाई माफ गर्नुहोस् । म तपाईंले चाहेजस्तो मेहनती सन्तान बन्न सकिरहेको छैन । तर विश्वास गर्नुहोस्, म प्रयास गरिरहेको छु । आफ्नो जीवन धान्न अथक प्रयास गर्ने छु । सायद कुनै दिन म पनि तपाईं जस्तै बलियो बन्न सकूँ ।
परदेशमा संघर्ष गरिरहेको
सुबास मण्डेल

Loading...